कर्णाली प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन हुँदै

सुर्खेत । कर्णाली प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९)संक्रमणको जोखिमलाई ख्याल गर्दै माघ १८ गते ‐फेब्रुअरी १ ० मा भर्चूअल माध्यमबाट अधिवेशन गर्न लागिएको हो । ‘कर्णाली प्रदेशको शान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान’ नारा तय गरिएको अधिवेशनको तयारी तिव्र पारिएको आयोजक कमिटीका सदस्य गणेश कोइरालाले जानकारी दिए ।
पहिलो कार्यसमितिको कार्यअवधि फेब्रअरीमा सकिँदै छ । नयाँ कार्यसमिति चयनका लागि संस्थापक सल्लाहकार आशाराम ढुङ्गानाको संयोजकत्वमा अधिवेशन आयोजक समिति बनाइएको छ । अधिवेशनमा संस्थाका सल्लाहकार समिति, आजिवन सदस्य, साधारण सदस्य र विभिन्न पेशा तथा व्यवसायमा संलग्नहरुलाई सहभागि भइदिन अनुरोध गरिएको छ । संस्थाका अध्यक्ष प्रकाश बस्नेत (पदम)ले अधिवेशनमा आर्थिक र प्रगति प्रतिवेदन प्रस्तुत गरिनुका साथै आगामी योजनाबारे पनि छलफल हुने बताए ।
कर्णाली प्रदेश समाज दक्षिण कोरिया, कर्णालीबाट रोजगारीका सिलसिलामा दक्षिण कोरिया पुगेकाहरु आवद्ध रहेको संस्था हो । उक्त संस्थाले विभिन्न सामाजिक तथा सहयोगात्मक कार्य गर्दै आएको छ । कोरियामा रहेका नेपालीको हकहितका सवालसँगै नेपालमा समेत आपत्तकालीन अवस्थामा विभिन्न गतिविधिमा समाजको उत्तिकै सक्रियता रहने गरेको छ ।