आजदेखि तोकिएका व्यक्तिलाई मात्र खाडी मुलुक भ्रमणको अनुमति

२०७८ माघ १० गते, सोमबार

काठमाडौँ । गृह मन्त्रालयले तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी मुलुक र मलेसिया भ्रमणका लागि प्रस्थान अनुमति दिने भएको छ । कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला खाडी मुलुक र मलेसियामा गई नेपाली बिचल्लीमा परेको गुनासो आएकाले आजदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि उक्त मुलुकको भ्रमणमा जान रोक लगाएको हो ।

तोकिएका निकायका प्रतिनिधिलाई मात्र भ्रमण भिसाका लागि प्रस्थान अनुमति दिने मन्त्रालयले जनाएको छ । सरकारी कामको सिलसिलामा जाने सरकारी कर्मचारी, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिलाई संस्थागत कार्यका लागि मात्रलाई प्रस्थान अनुमति दिनेछ ।

मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलका अनुसार औद्योगिक तथा व्यावसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध विशिष्ट संस्थाबाट विशिष्ट कार्यका लागि जानुपर्ने आधिकारिक प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायको बजार प्रवर्द्धनका लागि जाने म्यानपावर व्यावसायिक सञ्चालक वा आधिकारिक प्रतिनिधिलाई पनि प्रस्थान अनुमति प्रदान गरिने छ ।

62 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal