स्थानीय तहको निर्वाचन गर्न गठबन्धन सरकार डरायोः नेता ढुङ्गेल

२०७८ माघ १० गते, सोमबार

काठमाडौँ । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा अनेरास्ववियुका इन्चार्ज माधव ढुङ्गेलले वर्तमान पाँच दलीय गठबन्धन सरकार स्थानीय तहको चुनाव गराउन डराएको बताउनुभएको छ ।

एमाले सरकारले गरेको जनमुखी कदमले गर्दा जनमत नपाउने डरले गर्दा सरकार संविधानलाई लत्याउँदै स्थानीय तहको निर्वाचन नगर्ने रणनीतिमा अगाडी बढेको आरोप लगाउनुभयो । संविधान अनुसार स्थानीय तहको निर्वाचन जनप्रतिनिधिको पदावधी सम्पन्न भएको ६ महिना भित्रमा सम्पन्न गर्नुपर्ने हुन्छ । आइतवार गठबन्धनको बैठकले स्थानीय निर्वाचन आगामी २०७९ को मंसिरमा मात्र गर्ने निर्णय गरेको थियो । सरकारले सोही निर्णयलाई कार्यान्वयन गर्दै स्थानीय तहको निर्वाचन २०७९ मंसिरमा गर्ने र संविधानसँग बाझिएका ऐनहरु संशोधन गरी निर्वाचन गर्ने सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी गराउनुभयो ।

गठबन्धनको सोही निर्णयलाई लक्षित गर्दै नेता ढुङ्गेलले संविधान विपरित तथा जनताबाट निर्वाचित हुने प्रकृयालाई सरकारले लत्याई निर्वाचनबाट भागेको आरोप लगाउनुभयो । संविधानको रक्षाको लागि एमाले जुनसुकै मूल्य चुकाउन समेत तयार रहेको उल्लेख गर्दै उहाँले एमाले जुनसुकै समयमा पनि निर्वाचनमा गठबन्धनसँग भिड्न तयार रहेको चेतावनी दिनुभयो ।

जनादेशबाट नभई परमादेशबाट बनेको सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने दावी गर्दै नेता ढुङ्गेलले सरकारले देश र जनताको भाग्य र भविष्यप्रति खेलवाड गरेको आरोप लगाउनुभयो । एमालेको सरकारको समयमा मुलुकले विकास र समृद्धिको यात्रालाई तिव्र गतिमा अगाडी बढाई अविकसित मुलुकबाट रुपान्तरण भई विकासन्मुख राष्टको रुपमा अगाडी बढेको तथ्य प्रस्तुत गर्नुभयो । एमालेले राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय स्वाधिनताको पक्षमा गरेको ऐतिहासिक कदमले जनताको प्रीय भएको दावी गर्दै एमालेको लोकप्रीयताकै कारण सरकार निर्वाचनबाट भागेको भन्दै आक्रोस जनाउनुभयो

79 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal