माओवादीको केन्द्रीय कमिटीको बैठक स्थगित

२०७८ माघ ७ गते, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ। कोभिड-१९ संक्रमण बढिरहेकाले बैठक स्थगित गरिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

अनिश्चितकालका लागि बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको हो।

‘स्वास्थ्य मापदण्ड पालना सम्बन्धि सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरुको सुझाव आदि लाई मध्यनजर गरि अर्को निर्णय नहुँदासम्म स्थगन गरेको ब्यहोराको जानकारी पठाइसकिएको छ,’ माओवादी केन्द्रद्वारा जारी सूचनामा भनिएको छ।

काठमाडौंमा सम्पन्न भएको माओवादी केन्द्रको ८ औं महाधिवेशनले पूर्ण केन्द्रीय कमिटी छान्न सकेको छैन भने पदाधिकारी चयन पनि माओवादीले थाँती नै राखेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षमा निर्वाचित भएपछि पदाधिकारी चयन पार्टीका नेता वर्षमान पुन उपचारका लागि चीनमा भएकाले हुन नसकेको बताएका थिए। माओ‌वादी केन्द्रमा महासचिव लगायतका पदमा आकांक्षी नेताहरुको संख्या धेरै भएकाले पदाधिकारी चयनमा ढिलाइ भएको बताइन्छ।

73 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal