एमाले नेता केशव बडालको चेतावनी, “स्थानीय तहको निर्वाचन एक घन्टा पनि ढिलो नहोस्”

२०७८ माघ ६ गते, बिहीबार

काठमाडौं । नेकपा एमालेका नेता केशव बडालले स्थानीय तहलाई खाली गर्नु संविधानमाथि हमला हुने बताएका छन् । एमालेको केन्द्रीय अनुशासन आयोगको अध्यक्ष समेत रहेका नेता बडालले भने, “वर्तमान संविधानको निर्मातामध्ये म पनि एक हुँ । संविधान अनुसार स्थानीय तहलाई खाली राख्ने कुनै ठाउँ छैन । अहिले जजसले रोक्ने प्रयत्न गर्दैछ, त्यो संविधानमाथि हमला हो । स्थानीय तहको निर्वाचन एक घन्टा पनि ढिला गर्ने अधिकार कसैलाई छैन ।”

स्थानीय निर्वाचन पछि धकेल्ने प्रयास नगर्न उनले चेतावनी दिए । उनले थपे, “संविधानले ६ महिनाभित्र भनेको छ भन्दैमा आजको भोलि गर्दा के हुन्छ ? हामीले जेठ ५ गतेभित्र स्थानीय तहको जिम्मेवारी हस्तगत गर्नुपर्छ । अब कुनै पनि बहानामा दायाँबायाँ अगरमगर जसले गर्छ, त्यो षडयन्त्र हो ।”

नेपाली कांग्रेसको सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलहरुको बहानाबाजीको पछि लाग्न नहुने उनले बताए । उनले थपे, “प्रचण्डले वर्तमान संविधानको आधारभूत कुरा नै स्वीकार्नुभएको छैन । तर प्रधानमन्त्री शेरबहादुर देउवा निरीह प्राणी होइनन् । उहाँकै पालामा २० वर्षदेखि स्थानीय तह खाली भयो । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले स्थानीय तहको निर्वाचन पछि धकेल्ने निर्णय नगरोस् । त्यो लोकतन्त्रमाथिको हमला हुन्छ ।”

संघीय निर्वाचन जतिसक्दो चाँडो गर्नु राम्रो हुने बडालले बताए । उनले भने, “संघीय निर्वाचन जहिले सुकै गर्न सकिन्थ्यो । त्यो एक वर्ष पहिले नै गर्न सकिन्थ्यो । तीनै तहको निर्वाचन वैशाखमा गर्ने हो भने पनि हाम्रो विरोध हुँदैन । तर स्थानीय निर्वाचन एक घन्टा पनि ढिला गर्नुहुन्न ।”

58 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal