संसद विघटन गर्ने ओली कदम १३ महिना पछि प्रचण्डद्वारा सही भएको स्विकार

२०७८ माघ ६ गते, बिहीबार

काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको १३ महिना पुगेको दिन माओवादी अध्यक्ष प्रचण्डले उक्त कदम सही भएको स्विकार गर्नुभएको छ ।

प्रचण्डले यो संसदले काम गर्न सकेन त्यसैले बैशाखमा संघीय निर्वाचन गरेर नयाँ संसदबाट काम गरौं भन्ने प्रस्ताव अघि सार्नु भएको छ । प्रचण्डले एमालेले यो संसदलाई चल्न नदिने भएकोले यसलाई विघटन गरेर नयाँ सँसदको निर्वाचन गर्ने प्रस्ताव गर्नुभएको हो ।
‘उहाँले यो प्रस्ताव पछिल्लो गठबन्धनको बैठकमा पनि गर्नुभएको थियो’ बैठकमा सहभागी एक नेताले भन्नुभयो ‘उहाँले सर्वोच्च अदालतको फैसलाको सम्बोधन गर्दै मध्यावधी वा अर्ली इलेक्सन नभनी कुनै नामबाट बैशाखमा निर्वाचन गरौं भन्ने प्रस्ताव गर्नु भएको छ ।’

बैशाख भित्र स्थानीय तहको निर्वाचन गर्नै पर्ने कानुनी बाध्यतालाई कुनै विकल्प खोजेर पछि धकेल्ने र स्थानीय तहका जनप्रतिनिधीको म्याद नथप्ने प्रस्ताव प्रचण्ड र माधव नेपालको छ । यसमा प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै प्रतिक्रिया दिनुभएको छैन । स्थानीय तहमा एमालेको पकड बलियो भएकोले त्यसलाई कमजोर पारेर मात्र स्थानीय तहको निर्वाचन घोषणा गर्ने मनस्थितीमा देउवा हुनुहुुन्छ । त्यसका लागि जेठबाट स्थानीय तह रिक्त पार्ने र कर्मचारीबाट सञ्चालन गर्ने गरी अध्यादेश ल्याउने सुझाव प्रचण्ड माधवले देउवालाई दिएका छन् । आफू अनुकुलका कर्मचारी स्थानीय तहमा पठाउने र एमालेका जनप्रतिनिधीलाई विवाद ल्याउने रणनीति गठबन्धनले बनाइरहेको छ । ‘यसका लागि राजनीतिक संयन्त्र बनाउने प्रस्ताव पनि आएका छन्’ बैठकमा सहभागी एक नेता भन्छन् ‘गठनबन्धन कायमै राख्ने र स्थानीय तहमा एमालेका विरुद्ध प्रोपोगाण्डा गरेर जनप्रतिनिधीलाई विवादित पार्ने रणनीति प्रचण्ड माधवको छ । यसमा देउवा मौन छन् ।’

आज हुने गठबन्धनको बैठकमा यस बिषयमा व्यापक छलफल हुने नेताहरुले जनाएका छन् । प्रचण्डको प्रस्तावमा देउवा धेरै नकारात्मक नभएको नेताहरु बताउछन् । पहिला संघीय संसदको निर्वाचन गर्दा काँग्रेसले धेरै स्थानमा जित्ने र आफ्नै नेृतत्वमा सरकार बन्ने अपेक्षा देउवामा छ । जसले गर्दा संविधान मिचेर भए पनि स्थानीय तहलाई विघटन गरेर संघीय निर्वाचन गर्न देउवा सहमत हुनसक्छन् भन्ने आंकलन धेरैले गरेका छन् ।

82 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal