प्रचण्डको प्रस्तावमा नेकपा (एमाले) महासचिवको व्यङ्ग्य

काठमाडौं । स्थानीय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचन गर्ने प्रस्ताव प्रति नेकपा (एमाले) महासचिव शंकर पोखरेलले व्यङ्ग्य गरेका छन् ।
सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमालेले निरन्तर संसद अवरोध’ गर्दा संसदको औचित्य पुष्टि हुन नसकेकाले स्थानीय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचनको प्रस्ताव गरेका थिए ।
सो प्रस्ताव प्रति एमाले महासचिव पोखरेलले ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन स्थानीय चुनाव पछि सार्ने गरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे ?’ भन्दै सामाजिक सञ्जालबाट व्यङ्ग्य हानेका हुन ।
सत्ता गठबन्धनको बैठक आज बस्दैछ । स्थानीय तहको निर्वाचनको मिति तयलगायतका बिषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो । आगमी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने बाध्यात्मक व्यवस्था रहेको छ ।