डेरावालसँग बढी महसुल असुलेमा घरधनीको विद्युत् लाइन काटिने

काठमाण्डौ । विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजनका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाउन्डमा ठूलो क्षमताको छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने छन् ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण विनियमावली-२०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था गरेको हो । प्राधिकरण सञ्चालक समितिको गएको २० पुसको ८९२ औँ बैठकबाट पारित भएको विनियमावली कार्यान्वयनमा आइसकेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् सेवा छिटो, सर्वसुलभ एवम् सहज रुपमा उपलब्ध गराउन र विद्युत् खपत बढाउने गरी ग्राहकमैत्री नयाँ विद्युत् वितरण विनियमावली कार्यान्वयमा ल्याइएको बताउनुभयो ।
‘विगतमा लोडसेडिङको अवस्थामा हरेक कुरामा प्रतिबन्ध लगाउन खोजिएको थियो, अहिले लोडसेडिङ अन्त्य भइ देशभित्र उत्पादित विद्युत् यही खपत बढाउनु पर्ने बाध्यात्मक अवस्था छ, यसलाई ध्यान दिइ ग्राहकलाई माग बमोजिम छिटोभन्दा छिटो भरपर्दो तथा गुणस्तरीय सेवा उपलब्ध गराउने र विद्युत् खपत बढाउने गरी नयाँ विनियमावली कार्यान्वयनमा ल्याएका छौँ’,घिसिङले भन्नुभयो ।
‘खपत बढाउन विद्युत् महसुल घटाउँदै लगेका छौँ, सेवालाई पनि सहजीकरण गरी ग्राहकमैत्री बनाउन अधिकतम प्रयास गरिरहेका छौँ।’ विनियमावलीमार्फत प्राधिकरणले विद्युतीय गाडीका लागि चार्जिङ पूर्वाधार निर्माण तथा सञ्चालनका नीतिहरु कार्यान्वयनमा ल्याएको छ ।