वीरगञ्ज भन्सार कार्यालयबाट ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन

२०७८ माघ ५ गते, बुधबार

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज भन्सारले लक्ष्यभन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।

भन्सार विभागले साउनदेखि पुससम्मका लागि १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य तोकेको थियो । कार्यालयले सो अवधिमा कुल १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । ‘अघिल्लो आर्थिक वर्ष २०७७/७८ को समीक्षा अवधिको तुलनामा ३२ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेका छौं,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘पुस महिनामा लक्ष्य अनुसार राजश्व संकलन भएन, तर पनि अन्य महिनामा लक्ष्यभन्दा बढी असुली भएको कारण ६ महिनाको लक्ष्य भेटेका छौं ।’

वीरगञ्ज भन्सारले गत आव ०७७/७८ को पुससम्ममा ७३ अर्ब ५५ करोड रुपैयाँ योगदान दिएको थियो । प्रमुख भन्सार अधिकृत पौडेलका अनुसार पुस महिनामा १७ अर्ब ६० करोड ९० लाख ८ हजार राजश्व संकलनको लक्ष्य प्राप्त भएको थियो । कार्यालयले लक्ष्यको ९७.७ प्रतिशत अर्थात १७ अर्ब २० करोड ९१ लाख ३४ हजार रुपैयाँ संकलन गरेको छ ।

64 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal