रुसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्न सक्ने: अमेरिका

२०७८ माघ ५ गते, बुधबार

काठमाडौं । रुसले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्न सक्ने अमेरिकाले दाबी गरेको छ।

रुसले युक्रेन सीमामा ठूलो संख्यामा सेना परिचालन गरेको उल्लेख गर्दै ह्वाइट हाउसका प्रवक्ता जेन साकीले यस्तो दाबी गरेकी हुन्।

‘युक्रेनको हालत अत्यधिक खतरनाक देखिएको छ,’ उनले भनेकी छन्। अमेरिकी विदेश मन्त्री एन्टोली ब्लिंकनले मंगलबार यस मुद्दामा रुसी समकक्षी सेर्गेई लाभारोभसँग टेलिफोन संवाद गरेको उनले जानकारी दिइन्।

दुई नेताबीच शुक्रबार थप कुराकानी हुने बीबीसीले जनाएको छ। ‘उनीहरू आर्थिक प्रतिबन्ध चाहन्छन् कि चाहँदैनन् भन्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसका नागरिकले तय गर्नुपर्छ,’ साकीले भनिन्।

नेटोले पनि रुसले युक्रेनमाथि आक्रमण गरेमा चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ। रुसले आक्रमण गरेमा नेटोले युक्रेनलाई आत्मरक्षाका लागि साथ दिने नेटो महासचिव जेन्स स्टोल्टनबर्गले बताएका छन्।

जर्मन चान्सलर ओल्फ सोल्जले पनि ‘अर्गानाइजेसन फर सेक्युरिटी एन्ड कोअपरेसन इन युरोप’को सदस्यका नाताले युक्रेन सीमामा जारी तनाव कम गर्न रुसले तदारुकता देखाउनुपर्नेमा जोड दिएका छन्।

रुसी विदेशमन्त्री लाभारोभले भने पश्चिमा मुलुकले रुसलाई गलत ढंगबाट प्रस्तुत गरिरहेको बताएका छन्। युक्रेन सीमामा रुसी सेनाको अभ्यास मात्र चलिरहेको उनको भनाइ छ।

सीमामा सैन्य अभ्यासका लागि आफ्नो मुलुकले ‘मिन्स्क सम्झौता’ उल्लंघन नगरेको उनले प्रष्ट पारेका छन्। फान्स र जर्मनीको मध्यस्थतामा युक्रेनको डोनबास इलाकामा जारी तनाव अन्त्यका लागि सन् २०१४ मा मिन्स्क सम्झौता भएको थियो।

रुसले जर्मनीलाई पाइप लाइनमार्फत ग्यास सप्लाइ गर्दै आएको छ, जुन पाइप लाइन युक्रेनको भूभाग हुँदै जर्मनी पुग्छ। यदि युक्रेन र रुसबीच तनाव बढ्यो भने ग्यास सप्लाइ पनि ठप्प हुन सक्छ।

72 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal