कोरोना विरुद्धको खोपको समस्या छैन: स्वास्थ्य मन्त्री खतिवडा

२०७८ माघ ३ गते, सोमबार

मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको बताएका छन् । समाजवादी प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले खोप अभियान सातवटै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने नीति सरकारको रहेको बताए । मन्त्री खतिवडाले कोरोना विरुद्ध खोपको समस्या नरहेको जनाउँदै अहिले चार करोड डोज खोप रहेको बताए ।

समग्र जनसङ्ख्याका आधारमा ४० प्रतिशत जनताले खोप लगाइसकेको जानकारी दिँदै उनले खोपका लागि अस्थायी डेस्क पनि राखिने बताए । उनले भने, “बढी भीडभाड हुने सहरमा नियमित खोप सञ्चालन गर्ने सरकारको तयारी छ । हालसम्म दुई करोड ८० लाख डोज खोप लगाइसकिएको छ ।” उनले गत पुस ४ देखि १२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई खोप लगाउने कार्य सञ्चालन भइसकेको बताए । उनका अनुसार अहिलेसम्ममा दुई डोज खोप लगाउने नागरिकको प्रतिशत ६० पुगेको छ ।

सरकार ओमिक्रोनको रोकथाम, उपचार एवं नियन्त्रणका लागि तयारी गरिसकेको जनाउँदै उनले सरकार होल्डिङ सेन्टर निर्माण गर्ने र अस्पतालमा आईसीयू, भेन्टिलेटरको व्यवस्थासँगै धेरै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेको बताए । कोरोनाको महामारीका समयमा नागरिकले गरेको बीमा लाभग्राहीले प्राप्त गर्न सरकार र कम्पनीसँग छलफल भइरहेको जानकारी दिए ।

67 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal