सडकमा खनिएको खाडलमा परेर बुटवलमा युवकको मृत्यु

२०७८ माघ २ गते, आईतवार

बुटवल । सडक निर्माणको लागि खनिएको खाडलमा परेर बुटवलमा एक जना युवकको मृत्यु भएको छ। बुटवल र तिलोत्तमाको सीमाक्षेत्र योगिकुटिदेखी मगरघाटसम्मको सडक बिस्तारको क्रममा खनेको खाडलमा परेर गुल्मी छत्रकोट ३ का शोभाखर पन्थको मृत्यु भएको प्रहरीले जनाएको छ।

लामो समयदेखि फोटोग्राफर र कला क्षेत्रमा क्रियाशील पन्थ सवार लु ७० प १३५३ मोटरसाइकल शनिबार राति सडकमा खनिएको खाल्डोमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटना शनिबार राति भए पनि आइतबार बिहान मात्रै मर्निङ वाकमा गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबरपछि गएको प्रहरीले उनलाई उद्धार गरेर अस्पताल पुर्‍याए पनि उनलाई बचाउन नसकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

गुल्मी घर भए पनि पछिल्लो समय रुपन्देहीको सैनामैनामा बस्दै आएका पन्थले दर्जनौं गीत छायांकन तथा अभिनयसमेत गरेका छन्। उनका १ श्रीमती र १ सन्तान छन्। पन्थको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

80 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal