प्रदेश २ को बैठक आज: नाम र राजधानीबारे छलफल हुने

काठमाडौँ । प्रदेश नम्बर २ को राजधानी र नामबारे आज प्रदेश सभा बैठकमा छलफल हुने भएको छ।
नाम र राजधानीबारे अध्ययन गर्न गठन भएको समितिले प्रतिवेदन पेश गरेपछि आज बिहान ११ बजेपछि सो विषयमा प्रदेश सभामा छलफल हुने भएको हो।
सभामुख सरोजकुमार यादवको नेतृत्वमा नाम र राजधानीबारे अध्ययन गर्न समिति गठन गरिएको थियो । नाम र राजधानीमा प्रदेश सभा सदस्य सहमत नभएकोले अब मतदान हुने देखिएको छ। प्रदेश २ को नाम मधेस, जानकी, भोजपुरा, मिथिला, मध्यमधेसलगायत चर्चामा छ भने राजधानी जनकपुर वा वीरगञ्जमध्ये एक हुनुपर्ने प्रदेश सभा सदस्यहरूले बताइरहेका छन् । नाम र राजधानी तोक्न प्रदेश सभामा दुई तिहाइ मत आवश्यक पर्छ।राजधानी जनकपुरमा रहनुपर्नेमा धेरै प्रदेश सभा सदस्य सहमत भए पनि नाममा भने सहमतिनजिक पुगेका छैनन् । जसपा र नेकपा माओवादी केन्द्र प्रदेशको नाम मधेस राख्नुपर्नेमा छ । यो प्रस्तावलाई लोसपाले पनि समर्थन गरेको छ ।
यी दलका सांसद ६३ जना मात्रै छन् तर दुई तिहाइ पुर्याउन ७० सांसद चाहिन्छ। प्रदेश २ मा १०७ जना सांसद छन् । एमालेले र नेकपा एकीकृत समाजवादीले प्रदेशको नाम जानकी राख्नुपर्ने बताइरहेका छन्। यी दुई दलबाट २१ जना प्रदेश सभा सदस्य छन् । नेपाली कांग्रेसले भने प्रदेशको नाम मिथिला भोजपुरा राख्नुपर्ने बताएको छ। यहाँ कांग्रेसका १९ सांसद छन् । एक दलले राखेको प्रस्तावमा अर्कोले समर्थन नगर्दा दुई तिहाइ पुर्याउन कठिन छ ।