पहिलेका शोषण अहिलेका शासक: महासचिव पोखरेल

२०७८ पुष २८ गते, बुधबार

पर्सा । एमालेका महासचिव शंकर पोखरेलले जनतालाई शोषण गर्ने नै अहिले शासक भएको बताएका छन्। नेपाल कम्यूनिष्ट पार्टी एमाले पर्साको आठौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मंगलबार वीरगन्जमा यस्तो बताएका हुन्।

एमालेका प्रभावशाली नेता मध्ये पार्टी अध्यक्ष केपी शर्मा ओली पर्सामा आएर फर्किएको १९ दिन कटन नपाउँदै यहाँ आइपुगेका महासचिव पोखरेलले पहिलेका जमीनदार र शोषक अहिले गठबन्धन सत्ताका शासक भएको बताए।

एमालेलाई गाली गरेर ०६२–०६३ साल यता सांसद बनेका मधेशबादी दलका अधिकांश नेता मन्त्री बने। तर मधेशको विकासको सट्टा पहिले काठमाडौंलाई घृणा गरेर गाली उनीहरु सबैले अहिले काठमाण्डौमा बंगला बनाउने बाहेक अरु प्रगति नगरेको तर्क गरे।

एमालेले भने अध्यक्ष केपी ओलीकै अगुवाईमा हुलाकी राजमार्ग जस्तो मधेशको लाइफ लाइनको निर्माणलाई अगाडी बढाएको महासचिव पोखरेलले बताए। भारतले बनाइदिने भनी २३ बर्ष अल्झाएर राखेको यो हुलाकी राजमार्ग भारत भ्रमणमा रहेका समयमा अध्यक्ष ओलीले आफैं बनाउँछौं भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीधा कुरा गरी निर्माण गर्दा अहिले सम्पन्नताको नजिक पुगेको पनि उनले उदाहरण दिए।

मधेशमा विकासको रुप रंग फेर्ने अठोट गरी एडीबीको सहयोगमा भए पनि तराईका हरेक सदरमुकाम हेर्ने लायक शहर बनाउन प्रत्येक बर्ष ५० करोडका दरले बजेट विनियोजन गर्न एमाले नेतृत्वकै सरकारले सुरु गरेको छ। तराई मधेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत एमालेले १ हजार ४ सय विकास निर्माणका योजना थालनी गरे पनि परमादेशबाट बनेको गठबन्धन सरकारले ती योजना बन्द नै गरी मधेसलाई उपेक्षा गरेको महासचिव पोखरेलको दावी छ। ती योजना अगाडी बढे एमालेले जनताको बढि माया पाउने ठानी परमादेशी सरकारले बन्दै गरेको उनको जिकिर छ।

यति मात्र नभई मधेशको समुन्नतिको लागि सिंचाईको ठोस प्रबन्ध गर्न भेरी नदीको पानी बबइमा झारेर बर्दिया, बाँके कैलाली कन्चनपुर तर्फ र सुनकोशीको पानी डाइभर्सन गरी सुरुङ्गबाट बागमतीमा झारेर पर्सा, बारा, रौतहट र सलाईको अपार भू(सतहलाई बाह्है महिना सिंचाइ गर्न मिल्ने गरी दीर्घकालिन योजना एमाले नेतृत्वको सरकारले सुरु गरिसकेको छ। देशमा पूर्व पश्चिम एउटा महेन्द्र राजमार्ग मात्र रहेकोमा राष्ट्रिय गौरबका ४ वटा लोकमार्ग एमालेकै भिजनमा बन्दै गरेको उनको भनाइ छ।

यो देखेर जनताको काम नगर्ने अरु पार्टी र देशी विदेशी शक्तिले एमालेले केही बर्ष काम गर्न पाए कायापलट गर्ने रहेछ भनी अगालिएर पार्टी भित्रकै खराब तत्वलाई उचाली एमाले नेतृत्वको सरकारलाई काम गर्न नदिएको उनको दलिल छ। महासचिव पोखरेलले पार्टी भित्र भाँडभैलो मच्चाउने माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड कम्यूनिष्ट आन्दोलनका गद्दार र दक्षिणपन्थी मतियार रहेको पनि दावी गरे।

एमालेका सचिव तथा प्रदेश २ का इन्चार्ज रघुवीर महासेठले एमालेको छैठौं सातौं महाधिवेशनबाट नै अहिलेका पार्टी अध्यक्ष केपी ओली नेतृत्वमा आएको भने पार्टी र देशको अहिलेसम्म कायापलट भइसक्ने तर्क गरे।

72 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal