पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए नेपालको स्वतन्त्र अस्तित्व नै समाप्त हुन्थ्यो: अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पृथ्वीनारायण शाहले नेपालको एकीकरणका लागि पुर्यािएको योगदानलाई अवमूल्यन गर्नु सही नहुने बताउनुभएको छ ।
वर्तमान सामाजिक स्वरूपलाई आधार बनाएर तात्कालिक समाजलाई मूल्याङ्कन गर्दा त्यो समाज पिछडिएको तथा तत्कालीन समाजको नेतृत्वदायी वर्ग प्रतिकृयावादी भए पनि आफ्नो मुलुकको एकीकरणका लागि पुर्यातएको योगदानलाई अवमूल्यन गर्नु सही नहुने अध्यक्ष केसीको भनाइ छ । नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको महत्त्वपूर्ण ऐतिहासिक योगदान रहेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘तत्कालीन सामन्ती व्यवस्था प्रतिकृयावादी भएको कुरामा कसैसँग विमति हुन सक्दैन । तर तत्कालीन सामन्ती शासकहरूले आफ्नो मुलुकको राष्ट्रियताको रक्षाको भावनाले एकीकरण गरेका थिए । त्यो राष्ट्रियताको भावना सामन्ती राष्ट्रवादमाथि आधारित भए पनि त्यसले देशको एकीकरण तथा एकीकृत मुलुकलाई अङ्ग्रेजहरूबाट रक्षाका लागि महत्त्वपूर्ण भूमिका खेलेको थियो । नेपाल तत्कालीन अवस्थामा ५३ वटा स–साना राज्यमा विभाजित थियो । विभिन्न राज्यका बीच युद्ध, झैझगडा तथा लुटपाट चलिरहन्थ्यो । नेपालको दक्षिणतर्फ ब्रिटिश साम्राज्यवादको शक्ति र प्रभावमा विस्तार हुँदै नेपालको समेत राष्ट्रियता खतम गरेर आफ्नो उपनिवेश बनाउने उद्देश्यका साथ अगाडि बढिरहेको अवस्थामा पृथ्वीनारायण शाहले एकीकरण कार्य अगाडि नबढाएको भए सम्भवतः नेपालको स्वतन्त्र अस्तित्व समाप्त हुने थियो ।’