गठबन्धन सरकार कर्मचारीबाट स्थानीय तह चलाउन खोज्दैछ: अध्यक्ष ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुनमा स्थानीय तहको चुनाव गर्नुपर्ने भए पनि सरकारले चुनाव गर्न नचाहेको दाबी गरेका छन्।
फागुनमा स्थानीय तह निर्वाचन गर्नुपर्ने भए पनि सरकारले कुनै तयारी नगरेको उनको भनाइ थियो। संखुवासभामा आज एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले चुनावमा जान सरकार डराएको आरोप पनि लगाए।
‘यो सरकार चुनावमा जान डराइरहेको छ। कानुनअनुसार स्थानीय तहको निर्वाचन फागुनमा गर्नुपर्ने हो तर चुनाव हुने कुनै सम्भावना छैन,’ उनले भने, ‘यो सरकारले स्थानीय तह जनप्रतिनिधिविहीन बनाउने र कर्मचारीबाट चलाउने षड्यन्त्र गर्दैछ।’
उनले स्थानीय तहको निर्वाचन नगरेर कर्मचारीलाई पहिलेजस्तै स्थानीय तह चलाउन दिन सरकारले खोजिरहेको दाबी गरेका थिए।
कर्मचारीलाई स्थानीय तह जिम्मा लगाउने र जनप्रतिनिधिविहीन गर्ने षड्यन्त्र भइरहेको छ। पहिले पनि कर्मचारीले स्थानीय तह चलाउँदा पंगु भएको थियो,’ उनले भने।
०५४ पछि २० वर्षमा स्थानीय तह निर्वाचन ०७४ मा भएको उनले बताए। उनले भोट हाल्न लायक पार्टी एमालेमात्रै भएको दाबी पनि गरेका थिए। उनले सहमति साथ जिल्ला अधिवेशनबाट नेतृत्व छान्न आग्रह गरेका थिए।