राष्ट्र निर्माणका महान् नायक पृथ्वीनारायण शाहलाई बिर्सन हुँदैन: मन्त्री आले

२०७८ पुष २६ गते, सोमबार

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान् नायकका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

आज सोमवार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान् नायकका रूपमा लिनुपर्ने बताउनुभएको हो । उहाँले पृथ्वीनारायण शाहका विचारहरू आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्त्वपूर्ण र मार्गदर्शक रहेको बताउनुभयो । मन्त्री आलेले नेपालीहरूले हामी नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सन नहुने बताउनुभयो ।

मन्त्री आलेले भन्नुभयो, ‘नेपाल चार जात ३६ वर्णको साझा फूलबारी हो । प्रजा मोटा भए दरबार बलियो हुन्छ । राजाले देशमा अन्याय हुन नदिनु, ठूलो न्याय निसाफ हेर्नु, न्याय निसाफ बिगार्ने भनेको घुस लिने घुस खाने हुन्, यी दुईका धनजिउ हरि लिएता पनि पाप छैन, यी राजाका महाशत्रु हुन् जस्ता पृथ्वीनारायण शाहका विचारहरू आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्त्वपूर्ण र मार्गदर्शक छन् । पृथ्वीनारायण शाहलाई एक राजाका रूपमा मात्र हेर्नुभन्दा पनि उनलाई वर्तमान नेपाल राष्ट्रको निर्माणमा महान् नायकको रूपमा लिनुपर्दछ भन्ने मलाई लाग्छ । यदि हामीले आफूलाई नेपाली हौँ भन्ने कुरामा गर्व गर्छौँ भने पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैनौँ र बिर्सनु पनि हुँदैन ।’

मन्त्री आलेले पृथ्वीनारायण शाहले दिव्योपदेशमा व्यक्त गरेका आत्मनिर्भर अर्थतन्त्र, असंलग्न विदेश नीति, व्यापार, राज्य सञ्चालनका नीति र विचारहरु दूर दृष्टियुक्त रहेको भन्दै त्यसको महत्त्व र उपयोगितालाई ग्रहण गर्न अफ्ठ्यारो मान्नु नहुने बताउनुभयो ।

94 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal