नेपाल एयरलाइन्स अहिलेकै मोडलमा चल्न नसक्ने: सचिव मरासिनी

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)अहिलेको मोडलमा चल्न नसक्ने बताएका छन् ।
सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आयोजित छलफलमा अर्थ सचिव मरासिनीले वैकल्पिक मोडलमा नगएसम्म नेपाल वायुसेवा निगम ठीक ढंगले चल्न नसक्ने बताएका हुन् । ‘जतिसक्दो छिटो रिफर्म गरेर देखायोस्’ उनले भने ।
निगमसँग व्यवस्थापन सुधार गर्ने र कम्पनी मोडलमा सञ्चालन हुने विकल्प रहेको सचिव मरासिनीले बताए । अहिलेकै अवस्थामा सरकारले नेपाल वायु सेवा निगमलाई थप बजेट दिन नसक्ने भन्दै उनले नयाँ व्यवस्थापनले संस्था सबलीकरणको योजना ल्याउनु पनि उनले बताए ।
‘ग्राउन्ड ह्यान्डिलिङको शतप्रतिशत स्वामित्व नदिने हो भने निगमले तलब खुवाउन पनि सक्ने अवस्था छैन’, उनले भने, ‘जतिसक्दो छिटो संस्था चल्ने मोडलमा रुपान्तरण गर्नै पर्छ ।’
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र चिनियाँ जहाज खरिद गर्दाको समेत गरी ४७ अर्ब रुपैयाँ दायित्व पुगेको भन्दै अर्थ सचिव मरासिनीले अब निगममा तत्काल थप लगानीको सम्भावना नरहेको बताए ।