नेता कार्यकर्ता कोरोना संक्रमित भएसँगै, नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक स्थगित

काठमाडौं । कोरोना संक्रमण बढेसँगै भोलिका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।
यही पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशन गरेको नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता कोरोना संक्रमित भएसँगै केन्द्रीय कमिटी बैठक अनिश्चित भएको हो ।
विभिन्न नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको सूचना सार्वजनिक गर्न थालेका छन् ।
आठौं महाधिवेशनमा सहभागी १ हजार ७ सय ४२ प्रतिनिधिमध्ये झण्डै सय जनाले अहिले कोरोना जस्तै लक्षण सहित बिरामी भएको भन्दै सामाजिक सञ्जालमा सूचना राखेका छन् ।
माओवादीको केन्द्रीय कार्यालयमा कार्यरत २२ जनामध्ये २० जनालाई कोरोना भएपछि कार्यालय नै बन्द गरिएको मुख्य सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
केन्द्रीय कार्यालयको क्यान्टिन र लेखामा काम गर्ने सबैलाई कोरोना संक्रमण देखिएको छ । नेता कार्यकर्ता संक्रमित भएसँगै अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताले प्रत्यक्ष भेटघाट बन्द गरेका छन् ।