एमालेको आज ६१ जिल्लामा जिल्ला कमिटीका लागि मात्रै अधिवेशन गर्ने

२०७८ पुष २३ गते, शुक्रबार

काठमाण्डाै । नेकपा एमालेले आज ६१ जिल्लामा जिल्ला कमिटीका लागि अधिवेशन गर्ने भएको छ । जिल्ला अधिवेशनको बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअलरुपमा एकै साथ उद्घाटन गर्दै हुनुहुन्छ । बाँकी रहेका १६ जिल्लामा भने अधिवेशनका लागि अर्को मिती तोक्ने तयारी छ ।

एमाले नेता विष्णु रिजालकाअनसार प्रदेश–२ मा सप्तरी बाहेकका जिल्लामा आज अधिवेशन नहुने भएको छ । यस्तै, संखुवासभा, रोल्पा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने एमालेले जनाएको छ । एमालेको केन्द्रीय कमिटीले आज जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।

एमालेले जिल्ला र प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ । अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ । एमालेले गएको मंसिरमा चितवनमा १० औँ महाधिवेशन गरेको थियो ।

85 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal