१२ औं कपिलवस्तु महोत्सवको करिब ४० प्रतिशत काम सम्पन्न

२०७८ पुष २३ गते, शुक्रबार

कपिलवस्तु । १२ औं कपिलवस्तु महोत्सव नजिकिदैं गर्दा आयोजकले तयारीको कामलाई तीब्रता दिएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको १२ औं कपिलवस्तु महोत्सवको तयारी धमाधम भईरहेको छ । यही माघ १२ गतेदेखि २३ गतेसम्म हुने महोत्सवको करिब ४० प्रतिशत काम सम्पन्न भईसकेको छ ।

कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छविरेस्मी मगरका अनुसार महोत्सव स्थल वरिपरी कम्पाउण्ड लगाउने काम सम्पन्न भईसकेको छ भने स्टलहरु बनाउने काम धमाधम चलिरहेको छ । महोत्सव स्थललाई थप आकर्षक बनाउनका लागी सुन्दरीकरणको काम भईरहेको उनले बताए । उनले महोत्सव स्थलमा राखिने बुद्धको मूर्ति, शिवको मूर्ति तथा गुम्बा बनाउने काम धमाधम चलिरहेको छ । निर्देशक मगरले अहिलेको महोत्सव विगतका भन्दा पृथक किसिमको हुने बताए । उनले महोत्सवलाई ऐतिहासिक बनाउन सबैको साथ सहयोग हुने आवश्यक रहेको र उक्त साथ मिल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

स्थानीय स्तरका उत्पादनलाई महोत्सवमा प्रदर्शन गर्दै व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने आयोजकको तयारी छ । विभिन्न जातजातीको कला, संस्कृति, भेषभूषालाई संरक्षण, संवद्र्धन गर्दै सबैको साँझा महोत्सवको रुपमा विकास गरिने बताईएको छ । आयोजकले महोत्सवमा दुई लाख बढी दर्शक उतार्ने दाबी गर्दै आएको छ । यस्तै १०औं कपिलवस्तु डान्स आईडलको तयारी पनि तीब्र गतिमा अघि बढिरहेको छ । जिल्लामा रहेका उत्कृष्ट नृत्यकर्ताहरुलाई महोत्सवमा ल्याई प्रोत्साहन गरिने आयोजकले जनाएको छ ।

महोत्सवलाई भव्य रुपमा सफल बनाउँन कपिलवस्तु उद्योग बाणिज्य संघले प्रदेश सरकारसहित विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी तथा सरोकारवालाहरुसंग अन्तरक्रिया एवम् छलफल गर्दै आएको छ ।

163 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal