रमेश खरेलको नेपाल सुशासन पार्टीलाई दर्ताको प्रमाणपत्र

२०७८ पुष २३ गते, शुक्रबार

काठमाडौँ । नेपाल सुशासन पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। देशमा सुशासन कायम तथा भ्रष्टाचार र बेथिति अन्त्य गर्ने मूल लक्ष्य राखी एक महिनाअघि गठनको घोषणा गरेको उक्त पार्टीका अध्यक्ष रमेशप्रसाद खरेल हुन्।

राजनीतिलाई पेशा बनाइनु हुन्न भन्नेमा दृढ मत राख्दै आएको सो पार्टीले अध्यक्ष खरेलको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय कार्यसमिति बनाएको छ। पार्टीको उपाध्यक्षमा राजकुमार यादव, चन्द्रवीर नेम्वाङ, गोविन्दप्रसाद रिजाल, शङ्करलाल श्रेष्ठ र टुलराज बस्याल रहेका छन् । पार्टीको महासचिवको जिम्मेवारी गोविन्द गिरीले पाएका छन्।

केन्द्रीय कार्यसमितिको सचिवमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं, विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट तथा कोषाध्यक्षमा भक्तबहादुर केसी र सहकोषाध्यक्षमा मीनकुमार श्रेष्ठ रहेका छन्।

पार्टीले छिट्टै घोषणासभामार्फत सिद्धान्त, विचार र उद्देश्य जनतामाझ राख्ने उद्घोषसमेत गरेको छ। नवगठित पार्टीले सन्तुलित सद्भाव र विभेदरहित समाज निर्माणमा जोड दिँदै विधिको शासन, नेपाली जनतामा निहित सार्वभौमसत्ताको जगेर्ना, जैविक विविधतायुक्त भूगोलमा नेपालवादको सिद्धान्तलाई अवलम्बन गर्ने जनाएको छ।

मुुलुकमा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी देशको सर्वाङ्गीण विकास र शान्ति सुरक्षालाई विशेष प्राथमिकता दिने सो पार्टीले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

87 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal