विकासको काममा बेवास्ता गरेको भन्दै गाउँमा नेतालाई प्रवेशमा प्रतिबन्ध

डडेल्धुरा । डडेल्धुराको अमरगढी–१ को मालम गाउँमा युवाहरुले नेताहरुलाई गाउँ प्रवेशमा प्रतिबन्ध लगाएका छन् ।
जनप्रतिनिधिको रुपमा निर्वाचित भएकाहरुले विकासको काममा बेवास्ता गरेको भन्दै युवाहरुले ब्यानर टाँगेर नेताहरुमाथि गाउँ प्रवेशमा निषेध गरेका हुन ।
सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गमा पर्ने डडेल्धुराको मुख्य चोक स्याउले बजारबाट करिब २ किलोमिटर दुरीमा रहेको मालम गाउँमा जाने मुख्य ग्रामिण सडक माथि युवाले ब्यानर लगाएका छन् ।
करिब दुईसय घरधुरी रहेको मालम गाउँमा दुई दशकदेखि पानीको हाहाकार हुँदा पनि जनप्रतिनिधिहरुले बेवास्ता गरेको हुँदा युवाहरु आक्रोशित बनेका हुन । यस्तै, युवाहरुले उच्च शिक्षा, सडकमा कालोपत्रे, बेरोजगार युवाका लागि सिपमुलक कार्यक्रम सुचारु गर्न पनि माग गरेका छन् ।