सुरही खोलाबाट करोडौँको नदीजन्य पदार्थ निकासी: प्रशासन मौन

अनिल थारु, कपिलवस्तु । कपिलवस्तुको सुरही नदीबाट करोडौँको नदीजन्य पदार्थ उत्खनन् गरी चोरी निकासी गरिएको पाइएको छ । नगरपालिकाको वडा नं. १ र ९ नं. सिमानामा पर्ने सुरही नदीबाट नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा तथा मिस्कट चोरी निकासी गरिएको स्थानीयले गुनासो गरेको छन् ।
स्थानीयले चोरी निकासी भइरहेको सूचना पाएपछि वडा कार्यालय र वडा प्रहरी कार्यालय चन्द्रौटामा निवेदनसमेत दिँदा बेवास्ता गरेको भन्दै स्थानीय नागरिकले सोमबार सुरही नदीको अनुगमन समेत गरेका छन् । अनुगमनको क्रममा दर्जनौँ ट्रेक्टरहरुमा नदीजन्य पदार्थ लोड भइरहेको स्थानीय प्रकाश थापाले बताए । यसरी दिउँसै दर्जनौँ ट्रेक्टरबाट अबैद्य रुपमा करोडौँको नदीजन्य पदार्थ चोरी निकासी भई रहँदा पनि सम्बन्धित निकायले कुनै कारवाही नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
शिवराज नगरपालिकाले सुरही नदी नजिकै रहेको जोकोही खोलालाई ठेक्कामा दिएको भए पनि जोकोही खोलाको माल भएको भन्दै ठेकेदारले रोयल्टीसमेत काटेको पाइएको स्थानीयबासिले बताए । “यिनी चोर ठेकेदार, दलालहरु भ्रष्टचारीहरुका कारण राज्यका मुल्यावन् सम्पत्तिहरु संरक्षण हुन नसकेको हो, यस्तालाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकाय किन मौन छ ” । “वास्तवमा यस कार्यमा सबैको मिलेमतो नै रहेको देखिन्छ” उनले भने । सुरही खोलामा अबैद्य नदीजन्य पदार्थ उत्खनन् गर्ने शृङ्खला नरोकिएपछि अनुगमन गरिएको स्थानीयबासी दिल माया बाठा मगरले बताइन् । नदी दोहन कार्यलाई रोकथामका लागि स्थानीयले मात्र के कति गुनासो गर्ने र ध्यानाकर्षण गराई रहने भन्दै मगरले दुस्खसमेत व्यक्त गरिन् ।
यता ठेकेदार पक्षले आफूहरुले सम्झौता, मापदण्ड विपरीत र अबैधरुपमा नदी उत्खनन् नगरेको दाबी गरेको छ । स्थानीयले ठेकेदारको मिलेमतो रहेको गुनासो गर्दै आए पनि आफूहरूको संलग्नता नरहेको ठेकेदार पक्षले जनाएको छ ।
वडा नं. १ का अध्यक्ष जगत बहादुर जिसीले वडामा गुनासो आएको बताउँदै पटक (पटक अनुगमन पनि गरेको र नगरपालिकामा जानकारी गराएको बताए । उनले ठेकेदारलाई चिठीसमेत लेखी पठाएको बताए । चोरी निकासी गरेका ट्रेक्टरको रोयल्टी नकाट्न भने पनि ठेकेदारले मनपरी गरेको गुनासो आएको उनले बताए ।
यस्तै वडा नं. ९ का अध्यक्ष चूर बहादुर खड्काले जुन खोलामा ठेक्का पाएको हो त्यसैमा मात्र कारोबार गर्न पाइने अन्य खोलाबाट नदीजन्य पदार्थ चोरी गरेका तस्करलाई कानुनी दायरमा ल्याई कारवाही गर्नुपर्ने माग गरे ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक शंकर आचार्यले आफुलाई सूचना भएसम्म एक्शन लिएको बताउँदै गैरकानुनी कार्य गर्नेलाई कारवाहीको प्रक्रिया अघि बढाउने बताए । यो चोरी निकासी कार्यले सबैलाई समस्या निम्त्याएकोले आगामी दिनमा यस्ता गतिविधिलाई नियन्त्रण गर्नका लागि स्थानीय नागरिक, समाजसेवीहरूको साथ सहयोगको जरूरी रहेको उनले बताए । प्रहरी निरीक्षक आचार्यले भने “सबैले हातेमालो गर्दै जाने हो भने हामीले पनि नियन्त्रण गर्न सजिलो हुन्छ” ।
शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले ठेकेदारले सम्झौता, मापदण्ड विपरीतका अबैद्य चोरी तस्कारी गरेको संलग्नता रहेको पाइएमा कानुन बमोजिम कारवाही गरिने बताए । ठेकेदारले मनपरी गरेको हो भने आवश्यक प्रक्रिया अघि बढाउने उनले बताए । उनले भने “गैरकानुनी तवरबाट चोरी गर्नु कसैलाई छुट छैन” । नगर प्रमुख अधिकारीले तुरुन्त अनुगमन कार्यलाई निरन्तरता दिने बताए ।
मंसिर १७ गते नगरपालिकासँग सम्झौता भई काम सुरु गरेको खड्का काष्ठ फर्निचर सप्लायर्सले नदीजन्य पदार्थ उत्खनन् गरेको छ । यस भन्दा पहिला पनि ठेकेदारले खोलामा मापदण्ड विपरीतका मेसेनरी औजार प्रयोग गरिएको र पछि उक्त औजारहरु हटाइएको जनाइएको छ । ३२ लाखमा सम्झौता भएको उक्त खोलाबाट ४ हजार पाँच सय घन मिटर मात्र निकाल्न पाईने सूचना पाटीमा उल्लेख गरिएको छ ।
ठेकेदार कम्पनीले उत्खनन् गरेपछि त्यसको अनुगमन तथा निरीक्षण गर्नुपर्ने नगरपालिकाको स्थानीयबाासीबाट आएको गुनासोमा कुनै चासो नदेखाउँदा उनीहरूको मिलोमतो रहेको आशङ्का स्थानीयबासीले गरेका छन् । जिल्लाका पश्चिमी तथा विकट क्षेत्रमा लागेका नदीजन्य पदार्थको ठेक्कामा जिल्ला समन्वय समिति कपिलवस्तुको पनि कमजोरी देखिएको गुनासो गरेका छन् ।