टेष्ट क्रिकेटमा बंगलादेशले न्यूजिल्याण्डमाथि ऐतिहासिक जित

२०७८ पुष २१ गते, बुधबार

काठमाडौं । टेष्ट क्रिकेटमा बंगलादेशले न्यूजिल्याण्डमाथि ऐतिहासिक जित निकालेको छ। 

न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशले पहिलो टेष्टमा घरेलु टोलीलाई ८ विकेटले पराजित गरेको हो। क्रिकेटका सबै प्रकारका फम्र्याटमा न्यूजील्याण्डविरुद्ध बंगलादेशको यो पहिलो जित हो। जितसँगै बंगालदेशले २ खेलको श्रृंखलामा १–० को अग्रता समेत बनाएको छ। 

न्यूजिल्याण्डले अन्तिम दिनको खेल ५ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको अवस्थाबाट सुरु गरेको थियो। तर बाँकी ५ विकेट न्यूजिल्याण्डले जम्मा २२ रनमा गुमायो। टेष्ट च्याम्पियनसमेत रहेको न्यूजिल्याण्डलाई रोक्ने क्रममा बंगलादेशका बलर इबादर हुसेनले ५६ रन दिएर ६ विकेट लिए। दोस्रो पालीमा ब्याटिङमा उत्रिएको बंगलादेशका लागि जितका लागि जम्मा ४० रन आवश्यक थियो। जसलाई उसले १७ ओभरमा सहजै हासिल ग¥यो। 

यसअघि भएका १५ टेस्ट म्याचमा बंगलादेशले १२ मा पराजय भोगेको थियो भने बाँकी तीन वटा बराबरी भएको थियो। बंगलादेशले अहिलेसम्म देशबाहिर ६१ वटा टेष्ट म्याच खेलेको छ। जसमा यो उसको छैठौं जित हो। यसअघि बंगलादेशले वेष्टइण्डिज, श्रीलंका र जिम्बावेलाई दुई÷दुई पटक हराएको थियो। 

आफ्नो घरेलु मैदानमा न्यूजिल्याण्डको भने पाँच वर्ष पछिको यो पहिलो हार हो। सन् २०१७ मा न्यूजिल्याण्ड दक्षिण अफ्रिकासँग विलिंगटनमा पराजित भएको थियो। 

125 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal