राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्ने प्रतिबद्धता: मन्त्री आले
काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री प्रेमबहादुर आलेले अब बस्ने मन्त्रीपरिषदकाे बैठकबाट राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, नेपालले राष्ट्रिय पोशाक दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले अझै पनि राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा राज्यबाट नभएकोमा खिन्नता लागेको उल्लेख गर्दै अब छिट्टै बस्ने मन्त्रीपरिषदकाे बैठकबाट निर्णय गराउन आफू लागिपर्ने आश्वासन दिनु भएको हो । उहाँले त्यसका लागि आवश्यक तयारी गरेर आउनसमेत प्रतिष्ठानलाई आग्रह गर्नु भयो ।
मन्त्री आलेले राष्ट्रिय पोशाक दिवसको अवसरमा दिइएको सन्देशसहित आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय पोशाकलाई आधिकारिकता प्रदान गराउन अनुरोध गर्ने बताउनु भयो । यस्तै उहाँले नेपाली पोशाक हरेक नेपालीको पहिचान भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रिय पोशाक नेपालीहरुको राष्ट्रिय गौरव भएको बताउनु भयो । उहाँले राष्ट्रिय पोशाकको कुरा गर्दा जातीय पोशाकको महत्व कम नहुने पनि स्मरण गराउनु भयो ।