नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा अनुमोदन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा अनुमोदन भएको छ । शनिबार विधानमा उठेका विभिन्न समूहका प्रश्नको स्थायी कमिटी सदस्य देव गुरूङले जवाफ दिएपछि विधान पारित भएको हो ।
विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । १५ प्रतिशत सदस्य मनोनीत गरिने छ । यसअघि १० प्रतिशतमात्रै मनोनीत हुने व्यवस्था थियो । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ ।
५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ । केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुनेछ ।
विधान पारित भएलगत्तै बन्दसत्रस्थल कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमै स्थायी कमिटी बैठक जारी छ । बैठकपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ ।