प्रधानमन्त्री देउवाद्वारा डा. डिला सङ्ग्रौलाकाे ‘नेपालीका सपना अधुरै’ पुस्तकको विमोचन
काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाकाे ‘नेपालीका सपना अधुरै’ पुस्तकको विमोचन गर्नु भएकाे छ ।
उहाँले आज बालुवाटारमा आयाेजित कार्यक्रममा डा. सङ्ग्रौलाले लेख्नुभएकाे पुस्तककाे विमाेचन गर्नुभएकाे हाे ।
विमाेचन कार्यक्रममा उहाँले देशको कार्यकारी तहहरुमा समेत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित हुने गरी आरक्षणको व्यवस्था गरेर नेपाल र नेपाली कांग्रेस स्वयंले आफूलाई सबै समुदायको पार्टीको रुपमा चिनाएको दाबी गर्नुभयाे ।
प्रधानमन्त्री देउवाले राज्यको हरेक निकायमा तेत्तीस प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको बताउनु भएको छ ।
नेपालले महिला मात्रै नभएर दलित, जनजाति, आदिवासी सबैको अत्यन्तै समावेशी र समानुपातिक ढङ्गले राज्यका र पार्टीका हरेक तहमा प्रतिनिधित्व गराएको देउवाकाे दाबी छ ।
प्रधानमन्त्री देउवाले महिला नेतृहरुले महिला मतदाताहरुको सङ्ख्या बढाउन पनि उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेतृ सङ्ग्रौलाले नेपालको महिला आन्दोलनको क्षेत्रमा दिएको योगदान प्रशंसनीय रहेको बताउनु भयो ।