माओवादीको बन्दसत्रमा समूहले उठाएका प्रश्नको जवाफ दिँदै देव गुरुङ

२०७८ पुष १७ गते, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को काठमाडौंको प्रज्ञा भवनमा शनिबार पनि बन्दसत्र जारी रहेको छ। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित हुन नसकेपछि बन्दसत्र लम्बिएको हो।

आठौं राष्ट्रिय महाधिवेशनको शनिबारको बन्द सत्रमा विधान मस्यौदामाथि समूहगत छलफलबाट उठेका प्रश्न, सुझाव र जिज्ञासाको जवाफ स्थायी कमिटी सदस्य स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले दिइरहेका छन्। जवाफ पछि विधान मस्यौदा पारित गर्ने तयारी छ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदाको प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको थियो। प्रतिवेदनमाथि छलफल गर्न बनेका २५ वटै समूहले बुधबार र बिहीबार निष्कर्ष पेस गरेका थिए। नेकपा माओवादी केन्द्र प्रतिवेदनमाथि उठेका प्रश्न, सुझाव र जिज्ञासाको अध्यक्ष प्रचण्डले शुक्रबार बन्दसत्रमा प्रचण्डले जवाफ दिएर राजनीतिक प्रतिवेदन पारित गरेपनि विधान मस्यौदा पारित हुन सकेन। विधान पारित भएपछि मात्रै नेतृत्व चयन प्रक्रिया सुरु हुने छ।

माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ। नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको माओवादी केन्द्रले जनाएको छ।

पुष ११ गतेदेखि १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन भनेर प्रचार भएपनि एक दिन अगाडि मात्रै महाधिवेशनमा रुपान्तरण गरिएको थियो। प्रथम राष्ट्रिय सम्मेलनका लागि छनोट भएका प्रतिनिधि आठौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा रुपान्तरण भएका हुन्।

108 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal