३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने एउटा मात्रै देश नेपाल: प्रधानमन्त्री देउवा

२०७८ पुष १७ गते, शनिबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको दाबी गरेका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस नेतृ डा. डिला संग्रौलाद्वारा लिखित पुस्तक ‘नेपालीका सपना अधुरै’को विमोचन गर्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले नेपालले महिला मात्रै नभएर दलित, जनजाति, आदिवासी सबैलाई समावेशी र समानुपातिक ढंगले राज्य र राजनीतिक दलका हरेक तहमा प्रतिनिधित्व गराएको दावी समेत गरे।

प्रधानमन्त्री देउवाले भने‚ ‘नेपाल मात्रै एउटा यस्तो देश हो, जुन देशमा ३३ प्रतिशत हरेक ठाउँमा महिलालाई अधिकार दिइएको छ। नेपालमा पार्टीहरुले पनि ३३ प्रतिशत महिलालाई आरक्षण दिएका छन्।’

उनले मुलुकको कार्यकारी तहहरुमा समेत महिलाको प्रतिनिधित्व सुनिश्चित हुने गरी आरक्षणको व्यवस्था गरेर नेपाल र कांग्रेसले आफूलाई सबै समुदायको पार्टीको रुपमा चिनाएको बताए।

‘स्थानीय तहमा हेर्ने हो भने ४०/४१ प्रतिशत महिलाहरुलाई आरक्षणको व्यवस्था छ‚’ प्रधानमन्त्री देउवाले भने‚ ‘राष्ट्रपति र उपराष्ट्रपतिमा एउटा महिला, सभामुख र उपसभामुखमा एउटा महिलालगायत धेरै ठाउँमा मेयर र उपमेयरमा एउटा महिला, त्यस्तै गाउँपालिकादेखि लिएर सबै ठाउँमा महिलाहरुलाई हामीले आरक्षणको व्यवस्था गरेका छौं। अगाडि बढाएका छौं।’

प्रधानमन्त्री देउवाले महिला नेतृहरुले महिला मतदाताहरुको संख्या बढाउन पनि उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले नेतृ संग्रौलाले नेपालको महिला आन्दोलनको क्षेत्रमा दिएको योगदान प्रशंशनीय रहेको बताए।

87 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal