कर्णाली प्रदेशको बजेट ७ प्रतिशत मात्रै खर्च
काठमाडौं । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटलाई लक्ष्यअनुसार खर्च गर्न सकेको छैन । सुस्त गतिमा रहेको बजेट खर्च चालू आर्थिक वर्षको सुरुआती पाँच महिनामा ७ प्रतिशत मात्रै पुगेको छ ।
सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब ५३ करोड ३५ लाख ५५ लाखको बजेट ल्याएको थियो । तर, पाँच महिना भन्दा बढी समय बितिसक्दा पनि कुल २ अर्ब ७१ करोड ६९ लाख ५३ हजार ९३४ रुपैयाँ मात्रै खर्च गरेको छ । यो कुल बजेटको जम्मा सात दशमलव ४४ प्रतिशत मात्रै हो ।
प्रदेश सरकारले चालुतर्फको बजेटमा भने ११ दशमलव ३८ प्रतिशत खर्च गरेको छ । चालुतर्फ १४ अर्ब ८८ करोड १६ लाख बजेट मध्ये सरकारले एक अर्ब ६९ करोड ३६ लाख ५८ हजार १५६ रुपैयाँ खर्च गरेको छ । पुँजीगततर्फको बजेट भने जम्मा ४ दशमलव ७३ प्रतिशत मात्रै खर्च भएको छ ।
सरकारले पुँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार बजेट विनियोजन गरेकोमा १ अर्ब २ करोड ३२ लाख ७५ हजार ७७९ रुपैंया खर्च गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
हिमाली जिल्लामा यसपछिको समय बजेट खर्च गर्न कठिन हुने भएका कारण चालू आर्थिक वर्षमा पनि प्रदेश सरकारले अपेक्षाकृत विकास खर्च बढाउन नसक्ने देखिएको छ ।