मेलमिलापको नीति आज पनि त्यत्तिकै सान्दर्भिक र औचित्वपूर्ण छ : सभापति देउवा

२०७८ पुष १६ गते, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपीको मेलमिलाप नीतिले राजनीतिक दलहरुलाई राष्ट्रियता र लोकतन्त्रको संरक्षण र सम्बर्धनका लागि सहमति र सहकार्यका साथ अगाडि बढ्न प्रेरणा दिने बताउनु भएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले सबैमा शुभकामना व्यक्त गर्नु भएको हो ।

‘नेपालको लोकतान्त्रिक आन्दोलनमा वीपी कोइरालाले प्रतिपादन गर्नु भएको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको ठूलो महत्व छ,’ जारी विज्ञप्तिमा भनिएको छ ‘यो दिनले हामी सबैलाई सधै देशभक्ति र लोकतन्त्रप्रति प्रतिवद्धताका लागि प्रेरणा दिइरहेको छ । राष्ट्रियता र लोकतन्त्रप्रति समर्पित सबै राष्ट्रिय शक्तिबीच मेलमिलाप, सम्वाद, सहमति र सहकार्य सदैव आवश्यकता हुन्छ ।’

‘नेपाली कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलापको नीति आज पनि त्यत्तिकै सान्दर्भिक र औचित्वपूर्ण छ’ विज्ञप्तिमा उल्लेख छ ।

92 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal