झरिमा बोरा ओढेर न्यायको लागि धर्ना: सरकार मस्त निद्रामा
काठमाडौँ । देशभर बदली तथा वर्षा एवम् हिमपात भएको छ । मानिसहरु न्यानोमा बसेका छन् । तातो खाएका छन् । कोही हिउँ खेल्न व्यस्त छन् । तर काठमाडौँको माइतीघरमण्डलामा भने बाँकेका महिलाहरु बोरा ओढेर, आगो ताप्दै न्यायको माग गरिरहेका छन् ।
घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि अधिकारकर्मीहरु निरन्तर अनिश्चितकालीन धर्ना/रिले अनशनमा बस्दै आएका छन् । पछिल्लोपटक उनीहरु मंसिर ९ गतेदेखि निरन्तर धर्नामा छन् ।
बुधबार परिरहेको पानीको वास्ता नगरी उनीहरु अनशनमा बसेका हुन् । अनशनमा सहभागी रुबी खानले भनिन्, ‘हामी जबसम्म न्याय पाउँदैनौँ, तबसम्म अनशन तोड्दैनौँ । चिसोको पानीमा रुझ्दा बिरामी परेमा यसको जिम्मा राज्यले लिनु पर्छ ।’
‘हामी कलंकीमा होटलमा बसेका छौँ, हरेक दिन हिँड्दै यहासम्म आउँछौँ’, उनले भनिन् ।