दक्षिण अफ्रिकामाथि भारतको ११३ रनको जित
दक्षिण अफ्रिका । भारत र दक्षिण अफ्रिकाबिच सेन्चुरियनमा भएको पहिलो टेस्टमा भारतीय टोलीले ११३ रनको जित निकालेको छ। दक्षिण अफ्रिका सामु भारतले जितका लागि ३०५ रनको लक्ष्य दिएको थियो। जवाफमा दक्षिण अफ्रिका १९१ रनमा समेटियो।
भारतको सेन्चुरियन मैदानमा यो पहिलो जित हो। जितसँगै विराट कोहलीको कप्तानीमा रहेको भारतले १-० को जित निकालेको छ।
भारतको यो ५६ औं फरक मैदानको जितका रूपमा समेत रह्यो। योसँगै भारतले सर्वाधिक धेरै मैदानमा जित निकालेको अस्ट्रेलियाको विश्व रेकर्ड बराबरीसमेत गर्यो।
दक्षिण अफ्रिकाका लागि दोस्रो इनिङमा कप्तान डिन इल्गरले सर्वाधिक ७७ रन बनाए। उनी बाहेक टेम्बा बाभुमाको ३५ रन दोस्रो धेरै स्कोरका रूपमा रह्यो।
भारतका लागि जसप्रीत बुमराह र मोहम्मद सामीले समान ३-३ विकेट लिँदा मोहम्मद सिराज र रविचन्द्र आश्विनको नाममा २-२ विकेट लिएका थिए।
त्यसअघि भारत आफ्नो दोस्रो इनिङमा १७४ रनमा समेटिएको थियो। दक्षिण अफ्रिकाका कागिसो रबाडा र मार्को जेनसेनले समान ४-४ विकेट लिएका थिए।
पहिलो इनिङमा भने भारतले ओपनर केएल राहुलको १२३ रनको शतकीय इनिङमा ३२७ रन बनाएको थियो। उनलाई अर्का ओपनर मयंक अग्रवालले ६० रन बनाएर साथ दिएका थिए।
दक्षिण अफ्रिकाका लागि लुंगी गिदीले ६ विकेट लिएका थिए भने कागिसो रबाडाले ३ विकेट हात पारेका थिए तर दक्षिण अफ्रिका पहिलो इनिङमा १९७ रनमा समेटिएको थियो। उसका लागि टेम्बा बाभुमाले ५२ रन बनाउनु सर्वाधिक रनका रूपमा रहेको थियो।