राजनीतिक दलहरुले खेलाडीहरुलाई दूरुपयोग गरे: गोकुल बास्कोटा
काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् नेपाल खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटाले राजनीतिक दलहरुले खेलाडीहरुलाई दूरुपयोग गर्नेगरेको बताउनु भएको छ ।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनु भएका बास्कोटाले पञ्चायतकालमा व्यवस्था जोगाउन तथा बहुदल कालमा दलहरुले बुथ कब्जा गर्न खेलाडीहरुलाई दूरुपयोग गरेको भन्दै अव त्यसो हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
नेपाल खेलकुद महासंघले आफ्नो सम्मानमा बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले अव खेलाडीहरुलाई भोट प्राप्त गर्ने भोटिङ मेसिनको रुपमा प्रयोग हुन नदिने बताउनुभयो । बास्कोटाले खेल क्षेत्र र त्यसका खेलाडीहरुलाई राष्ट्र निर्माणका लागि उपयोग गर्नुपर्ने बताउनु भयो ।
उहाँले खेल क्षेत्रले राष्ट्र, राष्ट्रियता र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । बास्कोटाले राष्ट्रको उन्नतिका लागि उपयोगी हुने खेल क्षेत्रको विकासमा सहयोग गर्न सबै सामाजिक संघ, संस्थाहरुलाई आह्वान पनि गर्नु भयो ।
त्यस अवसरमा बास्कोटाले खेलाडीहरुको मनोबल बढाउने काम गरेको भन्दै पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रशंशा गर्नुभयो । उहाँले खेलाडीहरुलाई अपराधिक गतिविधिमा मुछ्ने प्रयास हुन दिन नहुनेतर्फ सचेत गराउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवम् मोर्चा मोर्चा विभागका इन्चार्ज भानुभक्त ढकाल, पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललगायतका नेताहरुले सम्बोधन गर्दै खेलकुद क्षेत्रको विकासमा लागिपर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।