अनुदानमा आएको मल कालोबजारी गर्न खोज्ने कपिलवस्तुका दुई जना पक्राउ

२०७८ पुष १५ गते, बिहीबार

कपिलवस्तु । किसानहरुका लागि अनुदानमा आएको मलमा कालोबजारी गर्न खोज्ने कपिलवस्तुका दुई जनालाई प्यूठान प्रहरीले पक्राउ गरेको छ । प्यूठान नगरपालिका–९ मरन्ठानाको दीर्घायू कृषि सहकारी लागि आएको युरिया मल कपिलवस्तु बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरका विवश क्षेत्री र सोही ठाउँका केशर महतरा छन् ।

उनीहरुले मंगलबार राति सहकारीका लागि आएको अनुदानको ३५ बोरा युरिया मल कपिलवस्तुको चन्द्रौटातर्फ बिक्रीका लागि ल्याउँदै गर्दा प्यूठान–८ बाग्दुलाबाट मलसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लु १ च ६१७१ नम्बरको पिकअप जिपमा मल लग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए । सहकारीका अध्यक्ष दीपेन्द्र केसीले सहकारीले तोकेको बिक्रेताबाट गल्ती भएको स्वीकार गरेका छन् ।

107 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal