बाणगंगाको ७ नं. वडाद्धारा लगातार ४ बर्ष निःशुल्क आँखा उपचार तथा मोतिया बिन्दुको अप्रेशन

२०७८ पुष १३ गते, मंगलवार

हरि आचार्य, कपिलवस्तु । युगको माग र वडावासीको आवश्यकता अनुसार बिकासका हरेक क्षेत्रलाई समेट्दै नमुनाको रुपमा अगाडि बढेको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ ले निःशुल्क आँखा शिविर कार्यक्रम गरि वडावासीको ज्योती बनेको छ । वडा कार्यालयको आयोजना, रण अम्बिका आखाँ अस्पताल भैरहवा र लायन्स क्लव अफ बुटवलको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न गरिएको छ ।

शिविरमा आँखा जाँच, औषधी वितरण र मोतिया बिन्दुको अप्रेशन समेत निःशुल्क गर्ने ब्यबस्था वडा कार्यालयले मिलाएको थियो ।
जसमा ४ सय ७ जना आखाँ रोगीहरुको आँखा जाँच भएको छ भने ५३ जना मोतिया बिन्दुका रोगीहरु फेला परेका छन् । ती ५३ जनालाई आजै निःशुल्क गाडीको ब्यबस्था गरि निःशुल्क अप्रेशनको लागि वडा कार्यालयले लायन्स आखाँ अस्पताल बुटवल पठाएको वडाध्यक्ष बिष्णु गिरीले जानकारी दिनुभएको छ ।

बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेले र शाखाका उप प्रमुख भक्ति पाण्डेले कार्यक्रमको अनुगमन गर्नुभएको थियो ।

शिविरमा स्वास्थ्य परिक्षणलाई अन्त्यन्तै ब्यबस्थापन गरि अपांग, अशक्त, अप्रेशन गरेका पुराना बिरामी र अति बृद्धबृद्धाहरुलाई प्राथमिकतामा राखी परिक्षणको ब्यबस्था मिलाईएको थियो ।

वडाका सबै जनप्रतिनिधि, वडाका ८ वटै टोल विकास संस्थाका पदाधिकारी दिनभर खटेका थिए भने जनचेतना आधारभुत विद्यालयका प्रधानाध्यापक शम्भुराम खनाल र सहायक प्रधानाध्यापक देवेन्द्र थापाले पनि ब्यबस्थापनमा सक्दो सहयोग पु-याउनुभएको थियो ।

116 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal