मंसिर मसान्तसम्म भारतबाट ३ अर्ब ११ करोड ७४ लाखको तरकारी आयात
भैरहवा । नेपालले चालु आर्थिक बर्षको ५ महिनामा भारतबाट ३ अर्ब भन्दा बढीको तरकारी आयात गरेको छ । साउन महिना देखी मंसिर मसान्तसम्म भारतबाट ३ अर्ब ११ करोड ७४ लाखको तरकारी आयात भएको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ ।
नेपाली बजार भारतीय बस्तुहरुमा भर पर्दै गई रहेको यो एक सशक्त उदाहरण हो । नेपाली बजारमै उपलब्ध तरकारीहरु बजार नपाउदा भारतबाट भने अबैँको तरकारी आयात हुदै गएकोले तरकारी उत्पादकहरु मारमा परेका छन् ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उपेन्द्र लामिछानेका अनुसार नेपालमा सबैभन्दा बढी आलु आयात भएको छ । ५ महिनाको तथ्यांक हेर्दा १ अर्ब ५३ करोड रुपैया बराबारको ६१ हजार ८ सय १६ मेट्रिक टन आलु मात्र नेपाल आएको छ । त्यसै गरि १ अर्ब ३० करोड ५७ लाख बराबरको ३५ हजार ८ सय ८० मेट्रिक टन भारतबाट आएको प्याज नेपालमा खपत भएको छ ।
अन्य बस्तुहरु झै भारतीय तरकारीको पनि नेपाली उपभोक्ताहरु बढ्दै गईरहेको यो तथ्यांकले स्पष्ट पारेको छ । भारतमा मल, बिउबिजनको सहज एवम सुपथ मूल्यमा उपलब्धता, सरकारी अनुदान, सडक सञ्जाल लगायतका कारण तरकारीको उत्पादन लागत कम परिरहेका हुन्छ । यसको तुलनामा नेपालमा ठीक उल्टो छ । नेपाली कृषकहरुको आफ्नै प्रयासमा उत्पादीत तरकारी भारतको तुलनामा महंगो पर्ने गरेको छ । परिणामस्वरुप भारतीय तरकारीको बजार नेपालमा बढ्दै गईरहेको छ । भारतीय तरकारीको कारण नेपाली कृषकहरु लगानी भन्दा कम मूल्यमा घाटा सहेर पनि कम मूल्यमा तरकारी बेच्न बाध्य हुने गरेका छन् ।
भारतबाट आलु प्याज मात्र हैन लसुन, मशरुम, केराउ, सिमी लगायतका हरिया सागसब्जीहरु पनि उत्रिकै मात्रामा आउने गरेको छ । भैरहवा भन्सार कार्यालयका अधिकृत लामिछानेले दिएको जानकारी अनुसार यी ५ महिनामा मात्र २८ करोड १७ लाख मूल्य बराबरको ६ हजार ५ सय १६ मेट्रिक टन अन्य तरकारीहरु आयात भएको देखिन्छ ।