नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने जिम्मेवारी थपियाे : मुख्य प्रशिक्षक पुबुदु

२०७८ पुष १३ गते, मंगलवार

काठमाण्डाै । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नियुक्त गरेका नेपाली पुरुष क्रिकेट टाेलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरेका छन् । आज मङ्गलवार दिउँसाे नेपाल आइपुगेका मुख्य प्रशिक्षक दासानायकेले यस्ताे बताएका हुन् । 

त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले नेपालको चुनौती सामना गर्न आफू तयार भएको पनि बताए । पहिले नेपाली टोली सम्हाल्दा र अहिले टोली सम्हाल्दा फरक भएको भन्दै प्रशिक्षक दासानायकेले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने जिम्मेवारी थपिएको बताए ।

प्रशिक्षक पुबुदुले अहिले नेपाली टोलीमा खेलाडी र क्यानबीचको समस्या संसारका सबैजसो देशमा हुने गरेको र नेपालको समस्या सामान्य भएको भन्दै बन्द कोठाभित्र रहेर छलफल गरेको खण्डमा समाधान हुने विश्वास व्यक्त गरे । प्रशिक्षक दासानायकेले क्रिकेट अगाडि बढाउनका लागि खेलाडी र क्यानले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

क्यानको गएकाे मङ्सिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकका रूपमा पुबुदुलाई अनुमोदन गरेपछि पुबुदुले फेरि नेपाल टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन् । प्रशिक्षक दासानायकेले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसेका छन् । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–२० विश्व कप खेलेको थियो । 

120 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal