कपिलवस्तु महोत्सवको तयारी तीब्र, करिब २५ प्रतिशत तयारी सम्पन्न
कपिलवस्तु । १२ औँ कपिलवस्तु महोत्सवको तयारी तीब्र रुपमा अघि बढेको छ । कपिलवस्तु उद्योग बाणिज्य सघंले यहीँ माघ १२ गतेबाट सञ्चालन गर्न लागेको महोत्सव भव्य रुपमा सफल पार्न तयारी तीब्र रुपमा अघि बढेको हो । महोत्सवलाई ऐतिहासिक बनाउँन संघका सम्पूर्ण पदाधिकारी तथा सरोकारवालाहरु दिनरात नभनि तयारीमा जुटेको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए । महोत्सवका संयोजक समेत रहेका घिमिरेले महोत्सवलाई सफल पार्न विगतमा सम्पूर्णको साथ सहयोग प्राप्त भएको र अब पनि त्यो साथले निरन्तरता पाउँने विश्वास व्यक्त गरे ।
महोत्सवको तयारीका लागी विभिन्न पदाधिकारी तथा संयोजक तोकि सकिएको र सोही अनुसार संयोजकहरुले आआफ्नो जिम्मेवारी निर्वाह गर्न लागी परिरहेको कपिलवस्तु उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष यज्ञ प्रसाद भट्टराईले बताए । उनले महोत्सवको करिब २५ प्रतिशत तयारी भईसकेको समेत दाबी गरे । उनले महोत्सवलाई कसरी सफल बनाउन सकिन्छ रु भन्ने सवालमा आईतबार मात्र बुटवलमा लुम्बिनी प्रदेश सरकारका पर्यटनसंगै कृषि र उद्योग मन्त्रालयका छलफल गरिएको जानकारी दिए । उक्त छलफलमा महोत्सवलाई कसरी प्रदेशमा नै उत्कृष्ट बनाउन सकिन्छ भन्ने बारेमा व्यापक छलफल भएको उनले बताए ।
प्रदेशका १२ वटा जिल्लामा नै रहेका स्थानीय उत्पादनलाई स्टलमा राखेर प्रदर्शन गरि व्यापक रुपमा प्रचारप्रसार उद्देश्यसहित तयारी भईरहेको उनले बताए । उनले कपिलवस्तु भगवान गौतम बुद्धले २९ बर्ष विताएको जिल्ला भएकाले पनि यस क्षेत्रमा पर्यटकीय सम्भावना प्रस्सत रहेको र देशभरबाट पर्यटकलाई आकर्षण गर्ने गरि तयारी गरिरहेको बताए । महोत्सवलाई थप नयाँपन दिलाउँदै आकर्षणको केन्द्र बनाउँन सबै आफ्नो ठाउँबाट लागी परेको उनको भनाई छ ।
१२ औ कपिलवस्तु महोत्सवलाई ऐतिहासिक र देशका अरु महोत्सव भन्दा भिन्न बनाउने गरि तयारी अघि बढिरहेको महोत्सवका निर्देशक तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगरले बताए । महोत्सवमा विभिन्न जातजातीको परम्परागत भेषभूषा, संस्कृति झल्किने क्रियाकलाप, सेल्फी जोन, आकर्षक प्रवेशद्धार, दशौँ कपिलवस्तु डान्स आइडल रहने तथा नेपालकै सबैभन्दा ठुलो स्टेज समेत बनाईने उनले दाबी गरे ।
महोत्सव यहीँ माघ १२ गतेबाट २३ गतेसम्म बाणगंगाको बुद्ध रगंशालामा आयोजना हुदै छ । सघंले महोत्सवलाई सफल पार्न सघंले यस क्षेत्रका विभिन्न महात्वपुर्ण सघं सस्थाका प्रमुख तथा प्रतिनिधिहरुसगं छलफल गर्दै आएको छ ।