सर्लाहीमा व्यापारी मृत्यु प्रकरण : आक्राेशित स्थानीयवासीले प्रहरी भ्यानमा आगाे लगाए
सर्लाही । हिजाे आइतवार राति गस्तीमा हिँडेको प्रहरीको ना १ झ ८६९ नम्बरको भ्यानको ठक्करबाट एक व्यवसायीको ज्यान गएपछि स्थानीयवासीले प्रहरीको भ्यानमा आगो लगाएका छन् । ईश्वरपुर नगरपालिकाको कार्यालय परिसरमा पार्किङ गरी राखेको इलाका प्रहरी कार्यालय हरिपुरको ना १ झ ७४८२ नम्बरको प्रहरीको जीपमा आक्राेशित स्थानीयवासीले आगाे लगाएका हुन् ।
प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ । यसैबीच प्रदर्शनकारीले प्रहार गरेकाे ढुङ्गा लागेर पाँच प्रहरी घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानले आइतवार राति ठक्कर दिँदा ईश्वरपुर नगरपालिका ५ का व्यापारी रामकुमार महतो घाइते हुनुभएकाे थियाे । घाइते महतोको सर्लाही अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियाे । फेन्सी पसल बन्द गरेर ना. ४३ प ५०१८ नम्बरको मोटरसाइकल चलाएर घर जाँदै गर्दा महताेलाई प्रहरीको भ्यानले ठक्कर दिएको थियो । आइतवार राति नै महतोको ज्यान गए पनि प्रहरीले घटना लुकाएर आज सोमवार बिहान मात्र आफन्तलाई जानकारी दिएको स्थानीयवासीले दाबी गरेका छन् ।
घटनाको विरोधमा स्थानीयवासीले आज बिहानैदेखि बयलवास बजार बन्द गरेर इलाका प्रहरी कार्यालय घेराउ गरी टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शन बढ्दै गएपछि ईश्वरपुरमा सुरक्षा व्यवस्था कडा पारिएको सर्लाही प्रहरीले जनाएको छ ।