पूर्ण मात्रा खोप लगाउने १ करोड नाघे, २४ घण्टामै साढे ५ लाख जनाभन्दा धेरैलाई खोप

२०७८ पुष १२ गते, सोमबार

काठमाण्डाै । नेपालमा कोरोना भाइरसविरुद्धकाे पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको छ । आज साेमवारसम्म एक करोड एक लाख ६६ हजार पाँच सय चार जनाले पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो खोप योग्य जनसङ्ख्याको ५१ प्रतिशत हो ।

यस्तै एक करोड ३५ लाख ७३ हजार सात सय जनाभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् । नेपालमा अहिलेसम्म तीन करोड ९२ लाख तीन हजार नौ सय मात्रा खोप प्राप्त भएको छ । 

यसैबीच पछिल्लो २४ घण्टामै थप पाँच लाख ६८ हजार जनाभन्दा धेरैले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा पाँच लाख ६८ हजार तीन सय १९ जनाले खोप लगाएको विवरण प्राप्त भएको छ । सरकारले दैनिक तीन लाख मात्रा खोप लगाउने लक्ष्य लिएको छ । 

यस्तै २४ घण्टामा थप दुई सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार आठ सय ८६ जनाको नमुना परीक्षण गर्दा दुई सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । थप दुई सय २५ जनासहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार पाँच पुगेको छ ।

यही अवधिमा एक जनासहित काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ८६ पुगेको छ । अहिले नेपालमा चार हजार नौ सय ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

87 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal