नवलपरासी पश्चिममा लागु औषध सहित ३ जना पक्राउ
नवलपरासी, पश्चिम । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा लागु औषधका मशहुर कारोबारी सहित ३ जनालाई पाल्हीनन्दन गाउँपालिका ३ कुश्मा चोकबाट पुष ९ गते शुक्रवारका दिन पक्राउ गरेको हो । पक्राउ पर्नेमा लागु औषधका मशहुर कारोबारी पाल्हीनन्दन गाउँपालिका ३ कुश्मा बस्ने विवेक पाण्डे उर्फ मन्टु, अर्को कारोबारी सोही ठाउँ बस्ने अब्दुल रहमान उर्फ चिन्कुल र सुनवल १ सोमनाथ बस्ने कृष्ण बहादुर पाण्डे रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट स्पास्मो १७४ क्याप्सुल, नाईट्रोभेट १९ ट्याब्लेट र कोडिन ३ बोतल लागु औषध बरामद गरेको छ । उनीहरू संग बरामद यो लागु औषध कम मात्रा भए पनि उनीहरू कारोबारी भने पुराना र ठुला नै रहेको स्थानीय बताउँछन् ।
विगतका वर्षदेखि विवेक पाण्डे उर्फ मन्टु र अब्दुल रहमान उर्फ चिन्कुल भारतीय बजारबाट लुकाई छिपाई लागु औषध ओसारी घरबाट विक्री वितरण गर्दै आएका थिए । विवेक पाण्डे स्थानीय नाम मन्टु पाण्डे र अब्दुलरहमान स्थानीय नाम चिन्कुलबाट चर्चित छन् । लागु औषधबाट निकै लाभ गरिरहेका मन्टु र चिन्कुल जिल्लामै लागु औषधको मशहुर कारोबारी भनेर चिनिने गरिन्छ । उनीहरू संग लागु औषध किन्न जिल्लाको बर्दघाट, सुनवल, परासी, जमुवाड, स्वाठी, बनकट्टी, खैरेनी लगायतका ठाउँहरूबाट लागु औषध सेवनकर्ताहरूको कुश्मा चोकमा भिडनै लाग्ने गरेको स्थानीयहरू बत्ताउँछन् ।
मन्टु र चिन्कुल सहित केही कारोबारीहरू सोझा साझा बालबालिका तथा व्यक्तिहरूलाई आर्थिक प्रलोभन दिई भारतीय बजार ठुठीबारी, लक्ष्मीपुर र बरगादवाँ बजारबाट विभिन्न प्रकारका लागु औषधहरू खरिद गरी ओसार्न लगाउथ्ये र घरमा लुकाएर राख्थे । सेवनकर्ताहरु आएपछि वरपरका बगैचा र खेतखरिहानमा लुकिछिपी महँगोमा लागु औषध बेच्ने धन्धा गर्दै आएका थिए । यिनीहरूको चर्तिकलाले स्थानीय केटाहरू बिग्रिहरेका थिए भने समाजमा नकारात्मक असर समेत परिरहेको स्थानीयहरू गुनासो गर्दै आएका थिए । लागु औषध कारोबारी मन्टु र चिन्कुलका विषयमा स्थानीयहरू प्रहरी, नेता तथा पत्रकार समेतलाई गुनासो गर्दै आएका थिए । तिनीहरुलाई स्थानियले सुधारका लागि जति सम्झाए पनि उनीहरू आफ नै धन्धामा व्यस्त रहने गर्दथे ।
प्रहरीले मन्टु र चिन्कुललाई रंगेहात पक्रन विगत केही महिनादेखि टारगेटमा राखी योजना बुन्दै आएको थियो कि त्यो दिन आयो र प्रहरीलाई सफलता मिल्यो । प्रहरीको टोलीले कुश्मा चोकबाट ती कारोबारीहरूलाई लागु औषध सहित पक्राउ गरी लगेपछि स्थानीयहरू निकै खुसी भएको पाइन्छ । पक्राउ पर्ने ती तिनै जना विरुद्ध लागु औषध मुद्रामा मुद्दा दर्ता गरी अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ । मन्टु ७/८ बर्ष अगाडी भारतमा मोटरसाईकल चोरीमा समेत पक्राउ परि जेलनेल भोगेका व्यक्ति हुन । तिनको अरेस्टले लागु औषध कारोबारी तथा सेवनकर्ताहरूमा त्रास फैलिएको छ ।