एसिया कप यू–१९ : नेपाल श्रीलङ्कासँग ६० रनले पराजित
काठमाण्डाै । १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल श्रीलङ्कासँग ६० रनले पराजित भएको छ । यूएईको शारजाह मैदानमा आज आइतवार भएको खेलमा नेपाल श्रीलङ्कासँग ६० रनले पराजित भएको हो ।
श्रीलङ्काले दिएको तीन सय २३ रनको लक्ष्य पछ्याएकाे नेपालले ४७ ओभर ५ बलमा अलआउट हुँदै दुई सय ६२ रन मात्र बनाउन सक्यो । नेपालका लागि अर्जुन साउदले ६४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै बसिर अहमदले ४३ रन जोड्दा विवेक यादवले ४६ रन बनाए । श्रीलङ्काका रभिन डी सिल्भा र मथिसा पाथिरानाले तीन/तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा चार विकेट गुमाएर तीन सय २२ रन बनाएको थियो । उसका लागि सदिशा राजापाक्षेले एक सय ३१ र चमिन्दु विक्रमासिङ्घेले एक सय ११ रन बनाए । नेपालका मोहम्मद अदिलले दुई तथा देव खनाल र विवेक यादवले एक/एक विकेट लिए ।
आजकाे हारसँगै नेपालकाे सेमिफाइनल खेल्ने सम्भावना सकिएकाे छ । पहिलो खेलमा नेपाल टेस्ट देश बङ्गलादेशसँग एक सय ५४ रनले पराजित भएको थियो । अब नेपालले अन्तिम खेलमा आउँदाे मङ्गलवार कुवेतसँग खेल्नेछ ।