जगदीशपुर तालमा भ्यु टावर निर्माणले आकर्षण थप्यो

२०७८ पुष ११ गते, आईतवार

कपिलवस्त । विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा पक्की भ्यु टावर निर्माण गरिएको छ । तालमा चरा हेर्न आउनेका लागि आकर्षण थप्ने उद्देश्यले टावर बनाइएको हो । टावरबाट कृत्रिम रूपमा बनाइएको तालको मनमोहक दृश्य हेरेर आनन्दित हुनुका साथै पर्यटकले चराको जलविहार, चिरबिराहट तथा जलक्रीडासमेत हेर्न पाउने भएका छन् ।

लुम्बिनी प्रदेश सरकारले ७२ लाख ५६ हजार रुपैयाँ लगानी गरी दुई वर्ष लगाएर टावर निर्माण पूरा गरेको हो । १८ मिटर अग्लो टावरको ३ खण्डबाट ताल हेर्न सकिन्छ । तालको दक्षिण क्षेत्रमा निर्माण गरिएको टावरबाट मौसम सफा भएका बेला ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण पहिलो हिमाल पनि देख्न सकिन्छ । हिमालसँगै आगन्तुक चराको लुकामारी, मनोरम आवाज र कोकिल कण्ठेबोलीले गजबको आनन्द थपेको बुटवलबाट घुम्न आएका रोशनजंग कार्कीले सुनाए । कपिलवस्तु नगरपालिका–९ र १० मा रहेको ताल १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

नेपालमा पाइने ८ सय ८८ प्रजातिमध्ये तालमा १ सय ६७ भन्दा धेरै प्रजातिका चरा पाइने आईयूसीएनले गरेको अध्ययनले देखाएको छ । त्यसमध्ये ९२ प्रजातिका रैथाने, ९ प्रजातिका गर्मीयाममा आउने, ६४ प्रजातिका जाडोयाममा आउने र ३ प्रजातिका चरा आंशिक प्रवासी रहेको अध्ययनमा उल्लेख छ ।विश्वमै दुर्लभ वन्यजन्तु पानी बिरालो, ओंत र ११ प्रजातिका चरा पनि यहाँ पाइन्छन् ।

तालमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने अध्ययनले देखाएको छ ।जाडो मौसममा तालमा २० हजार बढी आगन्तुक चरा बसाइँ सरेर आउँछन् । ताल सन् २००३ मा विश्व सीमसार क्षेत्रमा सूचीकृत भएको हो । संरक्षित क्षेत्रमा नेपालमै पहिलोपटक जगदीशपुर तालले संयुक्त राष्ट्रसंघीय इक्वेटर पुरस्कार २०१५ पाएको थियो ।

65 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal