हिमपात र वर्षा, चिसोको कारण सोलुखुम्बुमा बालबालिका र वृद्धवृद्धा प्रभावित
सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात हुँद तल्लो क्षेत्रमा बाक्लो कुइरो लागेर हल्का वर्षा भएको छ ।
हिमपात र वर्षासँगै चिसो बढेपछि स्थानीयवासी र पशुचौपायाहरू प्रभावित भएका छन् । अहिले खुम्बु क्षेत्रमा हिमपात भइरहेको छ भने सदरमुकाम आसपासका क्षेत्रमा पानी परिरहेको छ ।
सदरमुकाम सल्लेरीबाट देखिने तामाखानीको पिके डाँडा, टाक्सिन्दु, वेनी जुभिङ्ग लगायत आधा दर्जन डाँडा सहित आसपासका क्षेत्रहरूमा समेत हिउँ परेको छ ।
लामो समयपछि हिउँ र पानी पर्दा आलु र मकै रोप्ने किसानहरू उत्साहित भएका छन् । पानी र हिउँ पर्दा मकै सजिलै उम्रने सल्लेरीका किसान पेशल थापा बताउनुहुन्छ ।
चिसो ह्वात्तै बढेपछि सदरमुकाम सल्लेरी र आसपासका स्थानीय घर बाहिर निस्कन सकेका छैनन् । चिसोले विशेष गरी बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।