प्रधानमन्त्रीसमक्ष स्थानीय निर्वाचनको मिति प्रस्ताव गर्ने आयोगको तयारी
काठमाडौं । स्थानीय तह चुनावको तयारी थालेको निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।
प्रधानमन्त्रीसमक्ष आयोगका पदाधिकारीले स्थानीय चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले वैशाख तेस्रो सातासम्म चुनाव सक्नेगरी दुईवटा मिति प्रस्ताव गर्न लागिएको बताउनुभयो ।
आयोगले एक चरणमै निर्वाचन गर्न सरकारलाई सुझाव दिँदै आएको छ । सोही अनुसार मतदानको मिति तोक्न आग्रह गर्ने आयोगले जनाएको छ । एकै पटक चुनाव गर्दा वैशाखको २० वा २२ गते मतदान गर्ने मिति तोक्न प्रस्ताव गर्ने आयोगको तयारी छ ।
त्यसैगरी दुई चरणमा गर्ने हो भने पहिलो मतदान वैशाखको १२ वा १४ गते तोक्न सुझाइएको छ । दोस्रो चरणको भने २० वा २२ गते नै गर्न सकिने सुझाव आयोगले दिनेछ । कम्तीमा एक साता अन्तरमा दुई चरणमा चुनाव गर्ने आयोगको प्रस्ताव छ ।