शिवराजमा तनाव व्यवस्थापन सम्बन्धी एक दिवसीय ध्यान शिविर सम्पन्न

२०७८ पुष ८ गते, बिहीबार

गोपाल बन्जाडे, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा तनाव व्यवस्थापन सम्बन्धी एक दिवसीय ध्यान शिविर सम्पन्न गरिएको छ । मानव जीवनमा उर्जा बढाउने र जीवन शैलीमा नै सकारात्मक प्रभाव पार्ने उद्धेश्यले तनाव व्यवस्थापन सम्बन्धी एक दिने ध्यान शिविर कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ । रोट्ट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा शिवराज–३ खरेन्द्रपुरमा रहेको स्वर्गद्वारी आश्रममा बिहिवार एक दिवसीय ध्यान शिविर कार्यक्रम गरिएको संयोजक दिपक बेल्बासेले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद अर्जुन कुमार केसीले मेडिटेशन कोठाभित्रै गर्न सकिने भएकोले प्रभावकारी हुने बताए । उनले जोगिङ गर्दा बाटाघाटोमा हुने सम्भावित दुर्घटना हुनबाट जोगिन सकिने बताए । उनले भने “जोगिङका समयमा बाटोमा कुकुर, सर्पले टोक्न सक्छ, सवारी साधनले ठक्कर दिन सक्छ वा ज्यान पनि सक्छ, यस्ता दुर्घटनाबाट हामीलाई सुरक्षित बनाउँछ” ।

बुढेसकालसम्म जोगिङ र व्यायाम भन्दा मेडिटेशन लाभदायी हुने उनले बताए । उनले ध्यानले मानिसलाई स्वस्थ र तन्दुरुस्त राख्ने महत्वपूर्ण माध्यम भएकोले एकअर्कालाई सिकाउन आवश्यक रहेको जिकिर गरे । साँसद केसीले ध्यान शिविरको आयोजना गरी सराहनीय कार्यको प्रयास गरेको भन्दै रोट्ट्रयाक्ट क्लबलाई धन्यवादसमेत दिए ।

रोट्ट्रयाक्ट क्लब अफ कपिलवस्तुका अध्यक्ष शिशिर ९होतराज० पोख्रेलले रोट्ट्रयाक्ट क्लबले सामाजिक उत्तरदायित्वको सेवामा काम गर्दै आएको बताउँदै शिवराज नगरपालिकामा पहिलो पटक मेडिटेशन कार्यक्रम सञ्चालन गरेको जनाए । उनले ध्यान योगाले मन, मस्तिष्कलाई एक ठाउँमा केन्द्रित गरीे तनाव र चिन्तालाई कम गर्न महत्वपूर्ण भुमिका खेल्ने गरेको बताए । मानव जीवन शैलीमा दीर्घकालिन सकारात्मक प्रभाव पार्नका लागि आगामी दिनमा अझै व्यवस्थित रुपमा ध्यान शिविरको आयोजना गर्ने सञ्चालन गर्ने अध्यक्ष पोख्रेलले बताए ।

रोट्ट्रयाक्ट क्लबका भाइस प्रेसिडेन्ट गोपाल बन्जाडेको सञ्चालनमा भएको कार्यक्रममा ओसो तपोवन वाणगंगा आश्रमका स्वामी ध्यान गगनले प्रशिक्षण दिएका थिए । ध्यान शिविरमा ६० जना भन्दा बढीको सहभागितामा ध्यान शिविर सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

194 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal