नेपाली वायुसेवा कम्पनीमा सुधार गरेको भन्दै प्रतिबन्ध फुकुवा गरिदिन मन्त्री आलेको आग्रह
काठमाडौँ । बेलायतको लण्डनमा जारी वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) मा नेपाली पर्यटन व्यवसायीहरूको टोलीसहित पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मंगलबार बेलायतको हाउस अफ लर्ड्सकी सांसद् ब्यारोनेस वर्मासँग भेट गरेका छन् ।
भेटको क्रममा उनले यूरोपेली संघले नेपाली वायुसेवा कम्पनीलाई सन् २०१३ मा लगाएको प्रतिबन्ध फुकुवाका लागि बेलायती सरकारका तर्फबाट पनि पहल गरिदिन अनुरोध गरेको बैठकमा सहभागी नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रवन्धक लक्ष्मण गौतमले बताए ।
‘बेलायत ईयूको सदस्य राष्ट्र नरहे पनि पर्यटनमन्त्रीले हाउस अफ लर्ड्सकी सांसद् वर्मासँगको भेटमा नेपालले पछिल्लोपटक नागरिक उड्डयनका क्षेत्रमा धेरै नै सुधार गरिसकेकाले यस विषयमा बेलायतका तर्फबाट पनि पहल गरिदिन अनुरोध गर्नुभयो,’ गौतमले भने ।
पर्यटनमन्त्री आलेले नेपाल मामलामा जानकार रहेकी सांसद् वर्मालाई पछिल्लोपटक उड्डयन क्षेत्रमा नियमनकारी र सेवाप्रदायक गरी दुईवटा निकाय बनाउन नेपालको संसद्मा कानुनको मस्यौदा अन्तिम चरणमा रहेको जानकारी गराउँदै अर्न्तराष्ट्रिय उड्डयन संगठन ९आइकाओ० ले औंल्याएका धेरै मुद्दामा सुधार गरेको जनाएका थिए ।
हाउस अफ लर्ड्समै भएको आधा घन्टाको भेटमा मन्त्री आलेले वर्मालाई नीजगढ विमानस्थल निर्माणमा नेपाल सरकारसँग स्रोत नभएकाले बेलायती लगानीकर्ता जुटाइदिन पनि अनुरोध गरेको गौतमले बताए ।
‘बेलायतले युगान्डामा विमानस्थल बनाए जस्तै नेपालमा पनि स्रोत वा लगानीकर्ता जुटाइदिन सक्छ,’ मन्त्री आलेको भनाइ उद्धृत गर्दै गौतमले भने, ‘नेपाल सरकारले यसमा सहकार्य गर्नेछ ।’
कोरोना संक्रमणले थलिएको नेपालको पर्यटन बजारलाई पुनस् चलायमान बनाउन लण्डनमा जारी वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) मा भाग लिन मन्त्री आलेसहितको सरकारी टोली आइतबार काठमाडौंबाट बेलायत गएका थिए । उनी शनिबार काठमाडौं फर्किँदै छन् ।