महाप्रबन्धक न्यौपानेद्वारा अवकाश प्राप्त कर्मचारीलाई राहत
उदयपुर । उदयपुर सिमेण्ट उद्योग २९ वर्ष पुरानो उद्योग हो । एकातिर मर्मतसंभार खर्च बढी लागिरहेको र अर्कोतिर ब्रेकडाउनको समय बढी भएको कारणले दैनिक ८ सय मे. टन उत्पादन गर्ने क्षमता भएपनि औषत वार्षिक हिसाबले दैनिक ३ सय मे. टनको हाराहारीमा उत्पादन हुँदै आएको छ । यो कुरा बुझेका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले आफू नियुक्त भएको पहिलो ६ महिना उत्पादित सिमेण्ट बिक्री गर्दै आर्थिक स्थिति सुधार गर्दै पनि जाने र मूख्य मूख्य मर्मत संभारका कामहरु पनि गर्दै जाने नीति लिए ।
फलस्वरूप यो आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिक महिनामा समेत उत्पादन नियमित भैरहेको छ । मर्मत संभार तथा अपग्रेडिङ्ग अभियान अन्तर्गत २० मिटर क्लिन सेल फेर्न टेण्डर प्रक्रियाद्वारा सम्झौता भइ आगामी फेब्रुअरी भित्र फेरिसक्ने जनाइएको छ भने रिइन्फोर्समेण्ट सस्पेन्सन प्रिहिटर सिष्टम जडान गर्न अन्तिम अध्ययन गर्नका लागि कन्सल्टेण्ट नियुक्तिको प्रक्रिया पनि पूरा भैसकेको जनाइएको छ ।
यी दुई कार्य यो आर्थिक वर्ष भित्र सक्नेगरी संचालक समितिले बजेट पारित गरी रकम निकासाको लागि महाप्रबन्धक न्यौपानेको पहलमा उद्योग मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा सिफारिस भैसकेको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जानकारी गराएका छन् । अर्थ मन्त्रालयले ऋण सहयोग स्विकृति दिनासाथ उल्लिखित महत्त्वपूर्ण कार्य सम्पन्न भइ हालको दैनिक क्षमता ८ सय बाट ११ सय मे. टन सम्म हुनसक्ने अध्ययनले देखाएको छ । उद्योगको मर्मतसम्भार र क्षमता बिस्तारबाट उत्पादनमा हुने वृद्धिले उद्योगको आर्थिक स्थिति सुदृढ भइ निकट भविष्यमा अवकाश हुने कर्मचारीहरुले उपदान तथा औषधि उपचारको रकम पाउने आशामा रहेको प्रवक्ता पोखरेलले जनाए ।
यता वर्सेनि कर्मचारीको उपदान र औषधि उपचार कोषमा जम्मा गर्नुपर्ने रकम यस अघिका महाप्रबन्धकहरुबाट नियमित जम्मा नगरिदिएको कारण पछिल्लो समयमा अवकाश प्राप्त कर्मचारीहरुले भुक्तानी पाउन केही कठिनाइ भएको छ । एकातिर नियमित खर्च ब्यहोर्नुपर्ने र अर्कोतिर पुरानो दायित्व भुक्तानी समेत एकैसाथ गर्नाका लागि कठिन बन्दै गएकोछ । यस परिस्थितिमा पनि महाप्रबन्धक न्यौपाने उद्योगमा २०७७ माघ १ मा हाजिर भएपछि सो भन्दा पहिले अवकाश प्राप्त २१ जना कर्मचारीको उपदान बापत रु. ५ करोड ५४ लाख ९३ हजार ५ सय २० र औषधि उपचारको रकम रु। १ करोड ५० लाख ३५ हजारगरी कुल रकम रु। ७ करोड ५ लाख २९ हजार भुक्तानी पाइसकेका छन भने कोष बाहेक उद्योगले दिनुपर्ने बिदा मुआब्जा बापतको रकम रु. ७२ लाख ५८ हजार समेत भुक्तानी भैसकेको अबस्था छ ।
पछिल्लो समयमा उमेर हदका कारण अवकास हुने कर्मचारीको संख्या ह्वात्तै बढेको छ । महाप्रबन्धक न्यौपाने नियुक्त हुनु पूर्वका कर्मचारीलाई भुक्तानी गर्नुपर्ने भएको कारण महाप्रबन्धक नियुक्ति भएपछि अवकाश प्राप्त कर्मचारीले भुक्तानी पाउन सकेका छैनन ।’ तथापि पछिल्लो समयमा अवकाश प्राप्त मध्ये मृत्यु भएका ३ जनाको हकमा उपदान, औषधि उपचारको लागि रु. १ करोड ५ लाख ४३ हजार र अन्य १८ जना कर्मचारीको हकमा औषधि उपचारको रकम रु. १ करोड १८ लाख गरि कुल रु. २ करोड २३ लाख आजै भुक्तानी गर्न महाप्रबन्धक न्यौपाने सफल भएका छन,’ उद्योगका प्रवक्ता पोखरेलले बताए । बाँकी उपदानको हकमा रकम व्यवस्थापन गर्दै जेष्ठताको आधारमा क्रमशस् भुक्तानी गर्दै जाने नीति लिएको समेत उनले बताए ।
कारखाना परिषरमा उद्योगका कर्मचारीहरुले आफ्नै परिश्रमबाट तयार गरेको बाबा विश्वकर्माको मन्दिरको समुद्घाटन गरिएको छ । उदयपुर सिमेण्ट उद्योग राष्ट्रिय गौरवको उद्योग भएकोले उदयपुर जिल्लाका पर्यटकीय स्थल घुम्न आउने पर्यटकहरुका लागि यो उद्योग पनि एक पर्यटकीय स्थल भएको छ। पर्यटकिय स्थल भएकोले यसको सरसफाइ, संरक्षण र सम्बर्धन पनि जरुरी भएको महाप्रब्नधक न्यौपानेले बताए। उनका अनुसार गेट, क्याण्टिन, फुलवारी, स्मारिका नजिकमा राष्ट्रिय झण्डा फहराउने काम भैसकेको छ । आज विश्वकर्मा बाबाको मन्दिर बनाइयो, अबको अभियान कारखानाको जिर्णोदार गरीपूनर्जीवन दिने मात्रै होइन, उत्पादन क्षमता बढाएर आर्थिक सवलीकरण तर्फ उन्मुख हुने हो, उनले आफ्नो भिजन स्पष्ट पार्दै स्वच्छता र पारदर्शिता तर्फ उन्मुख भइ शुसासन कायम राख्ने आफ्नो अभियानमा पूर्ण रुपमा साथ दिन अधिकार प्राप्त अधिकारीहरुलाई निर्देशन समेत गरेका छन ।
अन्तर्राष्ट्रिय बजारमा कोइलाको बजार मूल्य आकासिएको छ, सकेसम्म मितव्ययी बनी न्यूनतम मूल्यमा उत्पादन गर्नु पनिको विकल्प खोज्न सकिन्छ कि रु भन्ने तर्फ लाग्नुपर्छ । हाम्रो देशमा रहेका सुकेर जाने बन पैदावर संकलन गरि बायो उर्जाको उत्पादन गर्ने उद्योगहरू खुलेका छन, ती उद्योगहरूलाई सरकारले प्रोत्साहन गरी कोइलाको विकल्प दिन सकिन्छ कि ? सरकारको ध्यानाकृष्ट गराउन चाहान्छु, श्री न्यौपानेले भने । आफू उद्योगमा प्रवेश गर्दा क्लिनको अवस्था नाजुक थियो, त्यसैले त्यसको मर्मतमा जोड दिएको कारण अहिलेसम्म दुःखसुख हाम्रा कर्मचारी साथीहरुले संचालन गरिरहनुभएको छ, त्यो बेला १ टन कोइलाले ४ टन क्लिंकर पाक्थ्यो भने पछिल्लो समय ५ टन भन्दा बढी पाकिरहेको छ, यो हामी सबैको लागि खुसीको कुरा हो, कोइला खपतमा मितव्यियता भएको छ । उनले खुसी व्यक्त गर्दै यसमा संलग्न सबै कर्मचारीहरु र मन्दिर निर्माणमा संलग्न सबै कर्मचारीहरु मुलतः मेकानिकल टिम धन्यवादको पात्र हुनुहुन्छ, महाप्रबन्धक न्यौपानेले भने । अब सबै मिलेर हामी सबैको साझा मन्दिर यो उद्योगलाई पूनर्जीवन दिन जुटौं, उनले आग्रह गरेका छन् ।
अन्तमा जिल्ला क्रिकेट संघ उदयपुरले आयोजना गरेको त्रियुगा टि–२० क्रिकेट प्रतियोगितामा उदयपुर सिमेन्ट उद्योगले द्दितिय स्थान हासिल गरेकोमा हार्दिक बधाई दिँदै आगामी दिनमा उद्योगले खेलकुद मार्फत उद्योगको प्रवद्धनात्मक कार्यक्रमहरु अघि बढाउन आफ्नो ड्युटी नविगारी खेलकुदमा सक्रिय रही अन्य सफलता हासिल गर्न शुभकामना व्यक्त गर्दछु । न्यौपानेले भन्नुभयो, वडादशै, शुभदिपावली र छठ पर्व लगायत आशन्न पर्वहरुको सन्दर्भमा उद्योगको तर्फवाट शुभकामना आदन प्रदान समेत सम्पन्न भएको छ ।